धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले दशैको १५ दिनको अवधीमा जिल्लामा भएका घटनाका बारेमा जानकारी गराउँदै आगामी चाडपर्व र निर्वाचन लक्षित सुरक्षा योजनाका बारेमा जानकारी गराएको छ । घटस्थापना देखि पूर्णीमासम्ममा जिल्लामा ३३ जना पक्राउ परेका छन् ।
प्रहरी प्रमुख एसपी चक्रराज जोशीले बालयौन दुब्र्यबहारमा एक जना, अभद्र ब्यवहारमा ३ जना, चोरीमा ४ जना, वुवामा २८ जना र सवारी ज्यान अभियोगमा १ समेत गरी ७ घटनामा ३३ जना पक्राउ परेको बताउनु भयो । अघिल्लो वर्ष यो अवधीमा ९ घटनामा १० जना पक्राउ परेका थिए । ‘जुवाका चार घटनामा २८ जना पक्राउ गरी १ लाख १९ हजार ६ सय ८५ रुपैया बरामदी भएको छ’– जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशीले भन्नुभयो–‘घरेलु हिंसा तीनवटा र झै झगडाकाका दुई घटना भएका छन् ।’ पुर्वानुमान गरे भन्दा दशै सहज र सामान्य रुपले सम्पन्न भएको प्रहरीले बताएको छ । ‘विगतमा जस्तो अरनिको र विपी राजमार्गमा पट्यारलाग्दो जाम हुन दिएनौ’–एसपी चक्रराज जोशीले भन्नुभयो–‘दुर्घटना न्यूनिकरणका लागि अपनाईएका सबै उपायहरु प्रभावकारी रुपमा कार्यान्वयन भए । जसका कारण यो अवधीमा दुर्घटना समेत हुन पाएन ।’
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले नीतिगत, संस्थागत र पूर्वाधार विकाससँगै जिल्लाको शान्ति सुरक्षाका लागि तयार गरिएका योजनाहरु प्रभावकारी रुपमा कार्यान्वयन गरिएको बताउनु भयो । चाडपर्व लक्षित सुरक्षा योजना, निर्वाचन विशेष सुरक्षा योजना र नियमित सुरक्षा योजनाका सन्र्दभमा चारवटै सुरक्षा निकाय र सरोकारवाला निकायसँग गरिएको समन्वय प्रभावकारी पारिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनु भयो । सोहि अवसरमा प्रहरीले जिल्ला प्रहरी कार्यालयबाट सम्पन्न गरिएका चाडपर्व लक्षित कार्यहरु, चाडपर्व लक्षित सुरक्षा योजना अनुसार परिचालित प्रहरी जनशक्ती, चाडपर्व लक्षित बजार अनुगमन, २०७८ र २०७९ सालको घटस्थापना देखि पूर्णिमा सम्मको घट्ना दर्ता संख्या, महिला, बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी उजुरी, चाडपर्व लक्षित अबैध घरेलु मदिरा नष्ट, चाडपर्व लक्षित समुदाय–प्रहरी–साझेदारी कार्यक्रम संख्या, सवारी दुर्घटना, मृत्यु, घाईते, कारवाही र राजश्व, जिल्ला प्रहरी कार्यालयको निर्वाचन लक्षित तयारी, जिल्ला कमाण्ड पोष्टको स्थापना गरी बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वलाई लक्षित सुरक्षा योजना निर्माण तथा कार्यान्वयन, आर्थिक कारोवार बढी हुने स्थानहरु जस्तैः बैक तथा बित्तिय संस्था, सुनचाँदी व्यवसाय र मुख्य बजार एरियाहरुमा पर्याप्त मात्रामा जनशक्ति परिचालन गरी भरपर्दो सुरक्षा व्यबस्था लगायतका विषयमा जानकारी गराएको थियो ।
प्रहरी प्रवक्ता डिएस्पी ढुण्डीराज न्यौपानेले मुख्य बजार एरिया तथा राजमार्गहरुमा नौ वटा यात्रु सहायता कक्षको स्थापना गरी यात्रुहरुलाई सेवा प्रदान गरिएको, अपराध बढी हुने स्थान र सवारी दुर्घटना बढी हुने स्थानहरुको पहिचान गरी भरपर्दो सुरक्षा व्यवस्थापन मिलाईएको, चाडपर्वको समयमा ट्राफिक सहितको संयुक्त चेकप्वाईन्टहरुको स्थापना गरी चेकजाँचको व्यबस्था मिलाईएको, चाडपर्वको समयमा स्थानिय निकाय तथा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी बजार अनुगमनको व्यबस्था मिलाइएको, चाडपर्वको समयमा हुने अवैध घरेलु मदिरा बिक्री बितरण एवं प्रयोगमा नियन्त्रण गरिएको, अरनिको राजमार्ग र वि.पि राजमार्गमा यात्रा गर्ने यात्रुहरुको सुरक्षाको लागि विशेष राजमार्ग सुरक्षा योजना तयार गरी कार्यान्वयन गरिएको, सवारी दुर्घटना न्युनिकरणका लागि दश (१०) दिन ट्रिपर सञ्चालनमा रोक लगाईएको, दुवै राजमार्गमा टाईम कार्ड लागु गरिएको, चाडपर्वको समयमा हुन सक्ने सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरी बैंक तथा वित्तियसंस्थामा कार्यरत सुरक्षा गार्डहरुलाई एक दिने अनुशिक्षण कार्यक्रम प्रदान गरिएको जानकारी दिनु भयो । दशैको अवधीमा जिल्लामा २ सय ४३ वटा पसल तथा उद्योगहरुमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा मुल्यसुची टास्नुपर्ने, म्याद नाघेको सामान उचित स्थानमा व्यवस्थापन गर्नुपर्ने, दर्ता नविकरण हुनुपर्ने, होटल व्यवसायीहरुको किचन व्यवस्थापन तथा सरसफाई राम्रो हुनुपर्ने, सामानमा टासिने लेवलमा स्पष्ट देखिने गरी लेवल राख्नुपर्ने, फार्मेसीष्ट नै फर्ममा बस्नुपर्ने, खरिद बिक्री बिल पसलमा नै राख्नुपर्ने, दर्ता प्रमाण पत्र, साईन बोर्डहरु सबैले देख्ने ठाउँमा राख्नुपर्ने, मासु पसल स्वस्थकर हुनुपर्ने सुझाव दिई आवश्यकता अनुसार जरिवाना गरिएको थियो । कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, जिल्लाका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।









