2026 April 25/ 11:37: 54pm

    जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अरनिको र विपी राजमार्ग हुँदै चल्ने सवारी साधनका लागि टाईम कार्ड लागु गर्ने निर्णय गरेको थियो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको यातायात सेवा समितिका पदाधिकारीहरुसँगको छलफल पछि राजमार्गमा चल्ने सार्वजनिक सवारी साधनका लागि टाईम कार्ड लागु गरी असोज १४ देखि २४ गतेसम्म कुनै पनि समय टिपर संचालन गर्न नपाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताउनु भयो । 
    टाईम कार्ड लागु गरिएका रुटहरुमा मंगलटार भकुण्डे १८ किमी दुरीका लागि ४० मिनेट, भकुण्डेबेशी काभ्रेभञ्ज्याङ १३ किमी दुरीका लागि ३५ मिनेट, काभ्रेभन्ज्याङ भकुण्डेबेशीका लागि ३५ मिनेट, धुलिखेल पाँचखाल १५ किमीका लागि ३० मिनेट, पाँचखाल दोलालघाटका लागि १० किमी दुरीमा २० मिनेट, पाँचखाल धुलिखेलका लागि ३० मिनेट समय निर्धारण गरिएको छ । अरनिको राजमार्ग भन्दा विपी राजमार्ग सप्तमी, अष्टमी र नवमीका दिन धेरै जाम हुने गरेको छ । यो वर्ष सप्तमीको अघिल्लो दिन शनिबार परेकाले अघिल्लो दिन देखि नै सवारी चाप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासन र यातायात ब्यवसायीहरुले सहज रुपमा यात्रुहरुलाई जाने वातावरण मिलाउन तथा दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले छलफल गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनु भयो ।
     ‘सार्वजनिक यातायातको भाडादर, यात्रु सिट क्षमताका आधारमा अनलाईन टिकेटिङ र कोभिड मापदण्ड पालनाका लागि यातायात ब्यवसायी मार्फत चालक र सहचालकलाई सचेत गराउने निर्णय भएको छ’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘यात्रु ओसार पसार गर्न सार्वजनिक यातायातमा एसएमसी अथार्त मास्क लगाएका यात्रुहरुलाई मात्र चढाउने, सवारी साधनमा स्यानिटाईजर अनिवार्य राख्ने, यात्रुहरुलाई सकेसम्म सामाजिक दुरी कायम गर्न शुरुमै जानकारी गराउने, सवारी साधनको चेकजाँच गरेर मात्रै चलाउने तथा त्यसको नियमित अनुगमन प्रहरी र ट्राफिक प्रहरीले गर्ने निर्णय भएको छ ।’ यात्रुहरुलाई सवारी साधनले भाडामा ठगेमा वा अन्य केहि समस्या भएमा यात्रु सहायता कक्ष र प्रहरीहरुको हटलाईन नम्वरमा फोन गरेर जानकारी गराउन सक्ने ब्यवस्था पनि प्रशासनले मिलाएको छ । बैठकमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, यातायात ब्यवसायीहरुको सहभागिता रहेको थियो ।