धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर १० शारदा बतासेले जेष्ठ नागरिक तथा एकल महिला सम्मान कार्यक्रम आयोजना गरेको छ । नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष गोविन्दप्रसाद उपाध्यायको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वडा भित्र रहेका ६८ वर्ष पुरा भएका ४३ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । जेष्ठ नागरिक ९० वर्षिय रामबहादुर थापा र ८८ बर्षिय माईली तामाङ उक्त वडाका सबै भन्दा जेष्ठ सदस्य हुन् । सचिव ईश्वरप्रसाद सापकोटाको संचालनमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख निराजन जंगम, पुर्व उपप्रमुख विमला शर्मा, सामाजिक विकास समिति संयोजक तथा वडा नम्वर ३ का अध्यक्ष गणेश प्रसाद आचार्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा एकल महिला १ सय ४० जना सम्मानित भए । यस अघि २०७४ मा निर्वाचित जनप्रतिनिधिहरु निर्वतमान वडा अध्यक्ष पुष्पराज राउतले जेष्ठ नागरिक र एकल महिला सम्मानको शुरुवात गरेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले वडा मार्फत गरिने यस्ता कार्यक्रमहरुले स्थानीय सरकारको थप प्रभावकारिता झल्कने बताउनु भयो । नगर प्रमुख ब्याञ्जुले नगरपालिकाले शुरु गरेका योजनाहरुको प्रभावकारी कार्यान्वयन र त्यसको पारदर्शिता तथा नागरिकहरुको निरन्तरतको निगरानी आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै उपप्रमुख निराजन जंगमले नगरपालिकाले शुरु गरेका अधिकांश कार्यहरुमा नागरिकहरुको प्रत्यक्ष सहभागिता हुनु पर्ने बताउनु भयो ।









