दुई युवा चालक भए, १० जना आमा बने
बनेपा/काभ्रेपलाञ्चोक जिल्लामा एचआईभी संक्रमण दर घट्दै गएको तथ्याङ्क सार्वजनिक गरिएको छ । संक्रमित भएकाहरुले नियमित औषधी सेवन गर्दा अन्य ब्यक्तिलाई एचआईभी नसर्ने भएकाले त्यस्ता ब्यक्तिहरुबाट जन्मिएका सन्तान पनि स्वस्थ हुने गरेको सक्रिय प्लस नेपाल काभ्रेका अध्यक्ष अमिर खड्काले जानकारी दिनुभयो ।
एचआईभी संक्रमित ब्यक्तिहरु विस्तारै समाजमा पुनस्र्थापित हुन थालेका छन् । जसमध्ये दुई युवा चालक बने भने १० महिला आमा बनेर स्वस्थ बच्चा जन्माए । २०६३ सालमा एचआईभी संक्रमितहरुको हक र अधिकारको लागि काम गरिरहेको छ । जिल्ला समन्वय समितिको बैठकमा जिल्लामा रहेका संक्रमित तथा धुलिखेल अस्पतालबाट सेवा लिईरहेका संक्रमितहरुको अवस्थाका बारेमा जानकारी गराईएको थियो । एचआईभी संक्रमित भएर नियमित औषधी सेवन गरिरहेका मध्ये १० जना महिलाहरुले एचआईभी नेगेटिभ बच्चा जन्माएको अध्यक्ष खड्काले जानकारी दिनु भयो । नेगेटिभ पुरुष वा महिलाले पोजेटिभ महिला वा पुरुषसँग विवाह गरेको अवस्थामा नियमित औषधी सेवन गर्दा उनिहरुबाट जन्मने सन्तान नेगेटिभ भएको उहाँले बताउनु भयो । एचआईभी एड्स भएकाहरुबाट डराउनु पर्ने र असुरक्षित हुने अवस्था घट्दै गएको उहाँले बताउनु भयो । काभ्रेपलाञ्चोक जिल्लामा १ सय ५५ जना संक्रमितहरु मध्ये नियमित एआरभी औषधी लिनेहरुको संख्या ८५ रहेको छ । २६ जनाको निधन भईसकेको छ भने ३ जना भारत गएका छन् । ४१ जनाले अन्य जिल्लाबाट औषधी लिईरहेको तथ्याङ्क छ । जसमध्ये एकजना बालिका १५ महिना देखि नियमित औषधी सेवन गरिरहेकी छिन् । उनी ५ वर्षकी भईन् । १२ केजी तौल रहेकी बालिकाको स्वास्थ्य ठिक रहेको उहाँले बताउनु भयो । २४ घण्टामा एक पटक सेवन गर्दा हुने एआरभी औषधीको अन्य कुनै असर देखिएको छैन । सरकारले निशुल्क औषधी र स्वास्थ्य विमा उपलब्ध गराएको भए पनि विमा अनुसारको सेवा प्राप्त हुन नसकेको विमा अभिकर्ता पुजा हुमागाईले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख डिएस्पी रेशम बोहोराले एचआईभी संक्रमितबाट बच्न र संक्रमितहरुले नियमित एआरभी औषधी सेवन गर्दा सुरक्षित हुने सन्देश सार्वजनिक स्थलहरुमा पनि राख्न समन्वय गर्न सुझाव दिनु भयो । आवश्यक समन्वय र सहयोग प्रहरीले पनि गर्ने भएकाले सक्रिय प्लस नेपालले योजना निर्माण गर्न डिएस्पी बोहोराले अनुरोध गर्नु भयो । वडा अध्यक्ष हिटलर शाक्यले नगरपालिकाले गर्ने विभिन्न कार्यक्रम अन्र्तगत सहयोग पु¥याउने बताउनु भयो । नगरपालिकाका प्रशासकिय अधिकृत धुव्रराज नेपालले सक्रिय प्लसले एचआईभी संक्रमितहरुका लागि गरिरहेको कामको प्रशंशा गर्नु भयो । छलफल कार्यक्रममा धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल, कृष्णप्रसाद अस्पताल, नेपाल परिवार नियोजन संघ, रेडक्रस तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सक्रिय प्लस नेपालले कोभिडका समयमा एचआईभी संक्रमितहरुलाई घर घरमै एआरभी पु¥याउँदै आएको थियो भने अहिले पनि विभिन्न जनचेतनामुलक कार्यक्रम, समन्वय, परामर्श र पैरवी गरिरहेको छ ।
एचआईभी पोजेटिभ भएका दुई युवा अहिले टिपर चलाउँदै आएका छन् । आत्मनिर्भरका लागि समस्या भईरहेका बेला युवाहरुको जोश र जाँगरले निरन्तरता पाएको अध्यक्ष खड्काले बताउनु भयो । सरकारले औषधी उपचारसँगै आत्मनिर्भर हुने कार्यक्रममा सहयोग गरिदिनु पर्ने अध्यक्ष खड्काले बताउनु भयो । बच्चा देखि औषधी सेवन गरेका बालबालिकाहरुको हकमा ठुलो भए पछि एचआईभी भएको थाहा पाउँदा मानसिक असन्तुलन भएको, विवाहका लागि समस्या देखिएको, समुदायले अझै पनि फरक दृष्टिकोणले हेर्ने लगायतका समस्या रहेको अध्यक्ष खड्काले बताउनु भयो ।









