2026 April 25/ 09:45: 00pm

बनेपा/बनेपामा रहेको सुप्रिम डेन्टल केयरको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । बनेपा नगरपालिका वडा नम्वर ७ का अध्यक्ष हिटलर शाक्यको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष विप्लव अधिकारीको अध्यक्षता रहेको थियो । 
सबै प्रकारका मुख तथा दन्त स्वास्थ्य सेवा अत्याधुनिक ढंगले प्रदान गर्ने दन्त स्वास्थ्य केयर नेपालको विभिन्न भागमा विस्तार गरी नेपालकै उत्कृष्ट दन्त स्वास्थ्य प्रदायक संस्थाका रुपमा अघि बढाउने अध्यक्ष विप्लव अधिकारीले जानकारी दिनुभयो । सचिव तथा प्रवन्ध निर्देशक भिमप्रसाद बञ्जाराले संस्थाले एक वर्षको अवधीमा गरेका कृयाकलापका बारेमा जानकारी दिदै अनुभवी तथा विशेषज्ञ दन्त चिकित्सकबाट दन्त परिक्षण र उपचार सेवा उपलब्ध गराएको बताउनु भयो । संस्थाले एक वर्षको अवधीमा २१ वटा शिविर आयोजना गरेको छ भने १४ वटा संस्थाको तर्फबाट तथा ७ वटा विभिन्न संघ संस्थाको समन्वयमा आयोजना भएका छन् । शिविरबाट ७ हजार ५ सय नागरिक लाभान्वित भएका छन् । सभामा सुप्रिम डेन्टल केयरले बर्षभरी गरेका गतिविधि समेटिएको बृत्तचित्र, प्रतिवेदन पुस्तिका साथै स्वस्थ जीवनको लागि स्वस्थ दाँत नामक सामुदायिक दन्त स्वास्थ्य पुस्तिका प्रकाशन गरी सार्वजनिक गरेको छ । 
सभामा बनेपा स्वास्थ्य शाखाका महेश्वर श्रेष्ठ, हार्ट फाउण्डेशनका अध्यक्ष अशोक श्रेष्ठ, अस्पतालकी डा.प्रिया श्रेष्ठ, डा. प्रकाश सुवाल लगायतले डेन्टल केयरले दिएका सुविधा र अवस्थाका बारेमा जानकारी दिनु भएको थियो ।