2026 April 25/ 09:45: 38pm

जिल्लामा प्रभावित ५२ हजार ९ सय २०
    मेथिन्कोट, भकुण्डे/मेथिन्कोट अस्पतालमा मानसिक अस्पताल लगनखेलको सहयोगमा बहिरंग मानसिक स्वास्थ्य सेवा शुरु भएको छ । प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामाले उक्त सेवाको शुभारम्भ गर्दै प्रदेश सरकारले नागरिकहरुका हरेक समस्यामा केन्द्रित रहेर काम गरिरहेको बताउनु भयो । यो सेवा हरेक महिनाको अन्तिम विहिबार उपलब्ध हुनेछ । 
    मेथिन्कोट अस्पताललाई राजमार्गका ट्रमा केयर युनिटका रुपमा विकास गर्ने तथा शैया थप गरी स्वास्थ्यका सबै सेवा उपलब्ध हुने स्वास्थ्य संस्थाका रुपमा विकास गर्ने योजनामा बजेट विनियोजन गर्ने मन्त्री लामाले बताउनु भयो । अध्यक्ष कृष्णप्रसाद खनालले प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालका रुपमा सेवा शुरु गर्न विभिन्न क्षेत्रबाट सहयोग भएको बताउनु भयो । मेथिन्कोट अस्पताल जिल्लाको एक मात्र सरकारी अस्पताल हो । पूर्व मन्त्री एवं सांसद् चन्द्र लामाले कोभिड १९ को महामारीमा अक्सिजन प्लान्ट स्थापना गरी सेवा विस्तार गरिएको बताउनु भयो । सांसद् गोमा भुर्तेलले देउसी भैलो खेलेर शुरु गरिएको स्वास्थ्य केन्द्रलाई अस्पताल निर्माण गरी नागरिकहरुको स्वास्थ्य सेवामा संवेदनशील बनेको बताउनु भयो । नगर प्रमुख कुन्साङ लामाले नगरपालिकाले अस्पताल संचालनका लागि आवश्यक सहयोग गर्ने बताउनु भयो । 
    मानसिक अस्पताल लगनखेलका निर्देशक डा. अनन्त अधिकारीले सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा पार्न लागेको भन्दै खुशी ब्यक्त गर्नुभयो । देशभर मानसिक स्वास्थ्य सम्बन्धि उपचारका लागि २ सय भन्दा धेरै विशेषज्ञ नभएको बताउँदै अधिकारीले तिनै तहका सरकारले मानसिक स्वास्थ्यलाई गम्भीर रुपमा लिनुपर्ने बताउनु भयो । जिल्लाको पनौती नगरपालिकामा २ वर्ष देखि मानसिक स्वास्थ्यका कार्यक्रम दुईवटा वडाबाट शुरु गरिएकाले मेथिन्कोट अस्पतालको सेवाले थप सहयोग हुने बताउनु भयो । समयमै उपचार पाउँदा निको हुने रोगलाई बेवास्ता र हेलचेक्राई गरेकाले ब्यक्तिको जीवन गुम्न पुगेको डा. अधिकारीले बताउनु भयो । अहिले पनि मानसिक रोग भएका विरामीहरुलाई परिवारका सदस्यहरुले दाम्लोले बाँधेर राखिरहेको उदाहरण समुदायमा छन् । 
    मेथिन्कोट अस्पतालका सुपरिटेन्डेन्ट डा. पुरुषोत्तम सेढाईले जिल्लामा प्रति ३ दिन एक जना ब्यक्तिले मानसिक रोगकै कारण आत्महत्या गरिरहेको बताउनु भयो । आत्महत्या गर्नेहरु मध्ये ८५ प्रतिशत ब्यक्तिलाई थाहा पाउँदा नपाउँदै मानसिक रोग लागिसकेको हुन्छ । एक वर्षको अवधीमा १ सय १९ जनाले आत्महत्या गरेका छन् भने तीन वर्षको अवधीमा ३ सय ९२ जनाले आत्महत्या गरेका छन् । एकजना ब्यक्तिले आत्महत्या ग¥यो भने १ सय ३५ जनालाई असर पर्ने डा. सेढाईले बताउनु भयो । अहिले ५२ हजार ९ सय २० जना आत्महत्या पछि प्रभावित छन् । नेपालमा एक वर्षमा ६ हजार ८ सय ३० जनाले आत्महत्या गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादु्र तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार लगायतले मन्तब्य राखेका थिए । 
    २७ रोपनी जमिनमा मेथिन्कोट अस्पताल ५० शैयाको बन्दैछ । त्यसका लागि आवश्यक प्रकृया पुरा भईसकेको डा. सेढाईले बताउनु भयो । पहिलो दिन पाटन अस्पतालका डाक्टरहरु लता गौतम र सुबास विजय महत लगायतले विरामीहरुको परिक्षण गर्नु भएको थियो । परिक्षण पछि निशुल्क औषधीको ब्यवस्था गरिएको थियो ।