2026 April 25/ 08:00: 34pm

    नमोबुद्ध/नमोबुद्ध नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएको एक सय दिन पूरा हुँदा जनताका पक्षमा भए गरेका निर्णय तथा योजना सहित भएका कृयाकलापका सन्दर्भमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । नगर प्रमुख कुन्साङ लामाले यस अघि निर्वाचित जनप्रतिनिधिहरुले शुरु गरेका कतिपय कामको निरन्तरताका साथै नयाँ योजनाहरु शुरु गरिएको बताउनु भयो । 
    नगरपालिकाले सामाजिक विकासलाई मुख्य प्राथमिकता निर्धारण गरी सुशासनयुक्त नगरको परिकल्पना सहित कृषि, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकूद, पर्यटन, जेष्ठ नागरिक, युवा तथा महिला सशक्तीकरण, उद्यमशीलताका साथै भौतिक पूर्वाधार विकासका कार्यहरु शुरु गरिएको नगर प्रमुख कुन्साङ लामाले बताउनु भयो । ‘महिला उद्यमीको मात्र स्वामित्व रहने गरी उद्योग वा फर्म दर्ता गराएमा त्यस्ता उद्योग वा फर्म नगरपालिकामा दर्ता गर्दा कानुन बमोजिम लाग्ने दस्तुर वा शुल्कमा पूर्ण छुट दिन शुरु गरिएको छ’–नगर प्रमुख कुन्साङ लामाले भन्नुभयो–‘यो अवधीमा १३ वटा उद्योग वा फर्महरुले यस्तो सुविधा प्राप्त गरी दर्ता भएका छन् ।’ त्यस्ता उद्योगहरुको स्थिर पूँजी पाँच लाखसम्म भएका लघु उद्यमहरु छन् । जेष्ठ नागरिक, पूर्ण अशक्त र अति विपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य उपचारका लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालिएको, महिनाको एक पटक दक्ष र विज्ञ स्वास्थ्यकर्मीबाट घुम्ती स्वास्थ्य परीक्षण शिविर संचालन शुरु गरिएको, निम्न आयस्तर भएका र अति विपन्न वर्गहरुको निशुल्क स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको नगर प्रमुख कुन्साङ लामाले बताउनु भयो । 
    पूर्ण अशक्त वर्ग, बैंकिङ सेवासम्म पुग्न नसक्ने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई भत्ता वितरण गर्ने वित्तीय संस्थाहरुसँग समन्वय र सहकार्य गरी सामाजिक सुरक्षा भत्ता वितरणको लागि स्थानीय स्तर वडास्तरमा नै घुम्ती बैंकिङ सेवा उपलब्ध गराउने कार्यको सुरुवात भएको प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद लम्सालले बताउनु भयो । वर्षातको कारणले यातायात सेवामा अवरुद्ध भएका नगरस्तरीय विभिन्न बाटोरसडकहरु नगरपालिकासँग रहेको मेशिनरी औजार मार्फत पहिरो तथा अवरोध हटाई एवं मर्मत गरी यातायात सहज बनाईएको, वैकल्पिक उर्जा प्रवद्र्धन गर्ने उदेश्य अनुरुप नमोबुद्ध नगरपालिकाका विभिन्न धार्मिक, सार्वजानिक स्थानहरुमा १० वटा सडक सौर्य बत्ति जडान गरिएको उपप्रमुख रत्न लामाले बताउनु भयो । 
    एक वडा एक पोखरी कार्यक्रमलाई निरन्तरता दिईएको र निर्वाचित भए पश्चात ४ वटा मूल संरक्षणको कार्य सुरुवात गरिएको उपप्रमुख लामाले बताउनु भयो । वर्षा, बाढी, वन्यजन्तु तथा विपद्का कारण क्षति भएको बाली तथा पशुधनका लागि किसानहरुलाई राहत रकम वितरण शुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद लम्सालले बताउनु भयो । न्यायिक समिति गठन भएसँगै आएका उजुरीहरु नियमित छलफल गरि अन्तिम किनारा लगाईएको उपप्रमुख रत्न लामाले बताउनु भयो । यो अवधीमा न्यायिक समितिको १७ वटा बैठकहरु सम्पन्न भएका छन् । सीप विकास सम्बन्धी तालिम उपलब्ध गराईएको छ भने योजना तथा कार्यक्रमहरुलाई समयमा नै कार्यान्वयन गर्ने उदेश्य अनुरुप योजना कार्यतालिका स्वीकृत गरी कार्यान्वयनमा ल्याईएको छ । कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । पत्रकार महासंघका उपाध्यक्ष विनोद न्यौपानले असल कार्यका लागि संचारमाध्यमको सकारात्मक सुझाव र सहयोग रहने बताउनु भयो ।