‘मान्छेले गर्नुपर्ने सेवा, प्रेम र त्याग’–स्वामी निषेषानन्दजी
बनेपा/पनौती नगरपालिका वडा नम्वर ५ मा रहेको विन्ध्यबासिनी आध्यात्मिक प्रतिष्ठानको प्रथम साधारण सभा अध्यक्ष कृष्णप्रसाद तिमल्सिना र स्वामी निषेषानन्दजी महाराजको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । स्वामी निषेसानन्दको उपस्थितीमा विन्ध्यबासिनी मन्दिरको प्राण प्रतिष्ठाका साथै गुरुकुल संचालन भएको छ ।
गुरुकुलमा ५ जना बालकहरु अध्ययन गरिरहेका छन् । १५ जनासम्म बालकहरुलाई गुरुकुलमा राखेर अध्यापन गराउने लक्ष्य प्रतिष्ठानको रहेको छ । साधारण सभामा बोल्दै स्वामी निषेसानन्द जी महाराजले संस्थामा दलगत आवद्धता त्यागेर सेवा, प्रेम र त्यागको भावनाबाट प्रवेश गर्नु पर्ने बताउनु भयो । हिन्दु धर्म मान्नेहरु हिंसाबाट अलग हुनु पर्ने भए पनि त्यसो हुन नसकेको बताउँदै उहाँले असल काम गर्ने मान्छेहरुका लागि कुनै पद आवश्यक नपर्ने बताउनु भयो । ब्यक्ति सफल नभई असल बन्न प्रेरित गर्नु पर्ने बताउँदै उहाँले पोशाक अनुसारको आचरण आवश्यक रहेको बताउनु भयो ।
विन्ध्यबासिनी आध्यात्मिक प्रतिठानले मातृ शक्ति, जेष्ठ नागरिक, युवा शक्ति लगायतका समितिहरु गठन गरी मन्दिरमा नियमित रेखदेख गरिरहेको छ । मन्दिर बनाउन ठुलो कुरा नभएको बताउँदै स्वामी निषेसानन्द जी महाराजले नियमित पुजा गरी मन्दिरको महत्व बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले शुरु गरेका हरेक मन्दिरहरुमा गुरुकुल शुरु गरिएको छ । गुरुकुलमा अध्ययन गर्ने बालकहरु मन्दिरका नियमित पुजारी हुन्छन् । ९ देखि १२ वर्ष उमेर समुहका बालकहरुले गुरुकुल अध्ययन गर्न सक्नेछन् । साधारण सभामा अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले विन्ध्यबासिनी मन्दिरको निर्माण सँगै सप्ताह आयोजना गरिएको, सामुहिक व्रतवन्ध तथा गुरु पुजा, चर्तुमासा लगायतका विविध कार्यक्रम आयोजना गरिएको बताउनु भयो । हरेक कार्यक्रमा विभिन्न क्षेत्रबाट सहयोग भएको उहाँले बताउनु भयो ।
साधारण सभामा सचिव हरिकृष्ण तिमल्सिनाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष शिवप्रसाद तिमल्सिनाले आर्थिक वर्ष २०७८÷०७९ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रष्ठिानका उद्धवप्रसाद तिमल्सिना, प्रा. भोला केसी, सह सचिव रामप्रसाद तिमल्सिना लगायतले आगामी योजना र विगत कामका समिक्षाका सन्दर्भमा जानकारी गराउनु भएको थियो । प्रतिष्ठानका सदस्यहरुले विभिन्न क्षेत्रबाट श्रोत संकलन गरी जग्गा खरिद गरी संरचना निर्माण गरिरहेका छन् । तिमल्सिनाहरुको कुल पूजा गर्ने उदेश्यले शुरु भएको उक्त संस्था अहिले विन्ध्यबासिनी कुल रहेका सबै थरका ब्यक्तिहरुको साझा संस्था बनेको छ ।









