धुलिखेल/धुलिखेल नगरपालिकाले बाल दिवसको अवसर पारी विद्यालयका विद्यार्थीहरुलाई वडागत सहभागि गराई बक्तृत्वकला तथा कविता प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र सान्त्वना पुरस्कार पाउने विद्यार्थीहरुलाई क्रमश नगद ५ हजार, ३ हजार २ हजार र १ हजार सहित प्रमाणपत्र उपलब्ध गराईएको थियो ।
प्रतियोगितामा कविता तर्फ १० जना र बक्तृत्वकला तर्फ १२ विद्यार्थीले भाग लिएका थिए । प्रतियोगिताको उद्घाटन नगर प्रमुख अशोक ब्याञ्जुले गर्नु भएको थियो । नगरपालिकाले बालबालिकाहरुको संरक्षण तथा हितका लागि नेपालमै छैटौ, प्रदेशमा तेश्रो र जिल्लामा पहिलो बालमैत्री नगर घोषणा गरेको बताउनु भयो । बालबालिकाहरुको शिक्षा, स्वास्थ्य तथा अन्य अधिकारहरुलाई संरक्षण र स्थापित गर्न विभिन्न कार्यक्रम तथा नीतिहरु निर्माण गरी कार्यान्वयन गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । भुकम्पले क्षति गराएका १६ वटा विद्यालयको पुर्ननिर्माण पुर्ण रुपमा सम्पन्न भईसकेको र बाँकी विद्यालयहरुमा पुर्ननिर्माण तथा अन्य संरचना संँगै गुणस्तर सुधार गर्ने कार्य प्रारम्भ भएको बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगरले राज्यले दिवस तथा अन्य अवसरमा बालबालिकाहरुलाई प्राथमिकतामा राखेर योजना तथा नीति निर्माण तहमै बालबालिकाहरुलाई समेटेको बताउनु भयो ।
बालबालिबालिकाहरुको हित तथा संरक्षणका लागि स्थानीय सरकारले खेलेको भूमिका महत्वपूर्ण भएको सुरेन्द्र थापा मगरले बताउनु भयो । कार्यक्रममा सामाजिक विकास समिति संयोजक एवं वडा अध्यक्ष गणेश आचार्य, वडा अध्यक्ष मोहन लामिछाने तथा बाल कल्याण अधिकारी विदुर गौतम लगायतले धुलिखेल नगरपालिकाले बालबालिकाहरुको हितका लागि गरेका कार्यहरुको बारेमा जानकारी गराउनु भएको थियो । धुलिखेल नगर बाल सञ्जालको आयोजनामा सम्पन्न कार्यक्रममा अध्यक्ष सौरभ धिताल, उपाध्यक्ष अप्सरा पराजुली लगायतले बालबालिकाहरुको अधिकारसँगै कर्तब्यका बारेमा धारणा राखेका थिए । प्रतियोगितामा शिक्षकहरु बैकुण्ठ न्यौपाने र रामचन्द्र भट्टराईले निर्णायकको भूमिका निभाउनु भएको थियो । कार्यक्रममा शिक्षा शाखा प्रमुख भोजकुमार ठकुरी, शाखा प्रमुख पुजा काफ्ले लगायतको सहभागिता रहेको थियो ।









