2026 April 25/ 07:59: 35pm

बनेपामा धेरै, खानीखोला र बेथान्चोक शुन्य
    धुलिखेल/काभ्रेमा डेँगुका संक्रमितहरुको संख्या ९८ पुगेको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषोतम सेढाईले बुधबार साँझसम्म बालबालिका देखि जेष्ठ नागरिकसम्म संक्रमित भएको  बताउनु भयो । 
    सबैभन्दा धेरै डेँगुका संक्रमित विरामीहरु बनेपा नगरपालिकामा छन् । बनेपामा ३६ जना संक्रमित भएको मध्ये १३ महिला र २३ पुरुष छन् । धुलिखेल नगरपालिकामा २५ जना डेँगुका संक्रमित पुगेका छन् । जसमध्ये १३ महिला र १२ पुरुष छन् । खानिखोला र बेथान्चोकमा हालसम्म संक्रमित छैनन । पनौतीमा ७ जना, पाँचखालमा ६ जना, मण्डन देउपुरमा ७ जना, नमोबुद्धमा ७ जना संक्रमित छन् । त्यस्तै रोशी गाउँपालिकामा ३ जना, तेमालमा २ जना, भुम्लुमा ३ जना, चौरीदेउरालीमा १ जना र महाभारत गाउँपालिकामा १ जना संक्रमित विरामी छन् । संक्रमित मध्ये ४४ महिला र ५४ पुरुष रहेका छन् । 
    स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईले जनचेतना फैलाउँदै डेँगुबाट बच्न विभिन्न कार्यक्रमहरु संचालन भईरहेको बताउनु भयो । स्थानीय तह तथा विभिन्न सरोकारवाला निकायहरुले डेंगुको संक्रमण फैलन नदिन वा संक्रमित विरामीहरुको उपचारका लागि कार्य गरिरहेको भए पनि पछिल्ला केहि दिन डेंगुको संक्रमण फैलिएकाले सचेत रहन अनुरोध गरिएको डा. सेढाईले बताउनु भयो । संक्रमित मध्ये ३ जना बालबालिका छन् । १० वर्ष भन्दा कम उमेर समुहका ३ जना, १० देखि २० वर्ष उमेर समुहका १३ जना, २१ देखि ३० उमेर समुहका २७ जना, ३१ देखि ४० वर्षसम्मका १५ जना, ४१ देखि ५० वर्षसम्मका १७ जना, ५१ देखि ६० वर्षसम्मका १४ जना र ६१ वर्ष भन्दा माथि उमेर समुहका ९ जना संक्रमित छन् । 
    जनाका आधारमा जनजाति ४५ जना संक्रमित छन् भने ब्राम्हाण क्षेत्री ४५ जना छन् । दलित समुदायमा ७ जना संक्रमित छन् भने अन्य समुदायका १ जना छन् ।