धुलिखेल/धुलिखेल नगरपालिकाको आयोजना तथा माईती नेपालको सहकार्यमा धुलिखेलका सामुदायिक तथा नीजि विद्यालयका विद्यार्थीहरुको सहभागितामा तिनै तहको सरकार, मानव बेचविखन विरुद्धको सरोकार भन्ने नाराका साथ मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा हाम्रो भूमिका विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा ११ विद्यालयका १९ विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा कालिदेवी माविकी छात्रा मणिराम न्यौपाने प्रथम भएका छन् । उनले नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै पूर्णसञ्जिवनी मावीकी शिवानी तोलाङ्ग दोश्रो भएकी छिन् । उनले नगद ३ हजार सहित प्रमाणपत्र प्राप्त गरिन् । बालविकास विद्याश्रमका सविन खनाल तेश्रो भए उनले नगद २ हजार सहित प्रमाणपत्र प्राप्त गरे । त्यस्तै धुलिखेल हाईस्कुलकी सलिना गिरी र सेतिदेवी मावीकी अतिथी तिमल्सिनाले सान्त्वना पुरस्कार पाए । उनिहरुलाई नगद १÷१ हजार र प्रमाणपत्र उपलब्ध गराईएको थियो । मानवबेचविखन रोक्न बालबालिकाहरुले खेल्न सक्ने भूमिकाका बारेमा बक्तृत्वकला प्रतियोगितामा धारणा राखेका थिए । धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र राना मगर, शाखा अधिकृत पूजा काफ्ले, शिक्षा शाखा प्रमुख भोजकुमार ठकुरी, सामाजिक विकास समिति संयोजक एवं वडा अध्यक्ष गणेश आचार्य, विद्यालयका शिक्षक बैकुण्ठ न्यौपाने, माईती नेपाल धुलिखेल शाखाकी संयोजक गायत्री गौतम लगायतले मानव बेचविखन रोक्न सबै पक्षको पहल आवश्यक रहेको बताएका थिए ।









