धुलिखेल/धुलिखेल कल्याणकारी सेवा समाज धुलिखेल काभ्रेको सातौं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन धुलिखेलमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्याञ्जुले १२ औं सताब्दिमा ब्याञ्जू परिवार भक्तपुरबाट धुलिखेल आएर बसेको र अहिले १ सय ३ परिवार व्याञ्जू परिवार रहेको बताउँदै एक सदस्य व्याञ्जु परिवार धुलिखेल आएर जसरी विकास भयो त्यसरी नै धुलिखेल भन्दा बाहिरबाट धुलिखेलमा आई बसोबास गर्नुभएका धुलिखेल कल्याणकारी सेवा समाजका सम्पूर्ण सदस्यहरुले पनि निर्धक्क भएर आफ्ना ज्ञान सीप नगरपालिकासँग साटासाट गरेर अघि बढ्न आग्रह गर्नुभयो ।
‘समाजमा नयाँ र पुरानो भैरहन्छ । एक आपसमा नयाँ र पुरानो भन्ने भावना हटाएर हामी सबै समान हो भन्ने दृष्टिकोणका साथ अघि बढ्नुपर्छ अनि मात्र विकास हुन्छ । अमेरिकामा विश्वभरीका मानिसको बसोबास छ । त्यहाँ ज्ञान, सीप, योजना बोकेका थुप्रै मुलुकका मानिसहरु भएकै कारण यति धेरै बिकास भएको हो । स्थानीय मानिसको मात्र बसोबासले विकास गति ढिलो हुन्छ तर बसाई सराईले धेरै सर्घष, अनुभव र आत्मबल बढाउँने भएकै कारण बिकास सम्भव हुन्छ । अमेरिका भन्ने देशलाई संसारभरिका मान्छेले जसरी अमेरिका बनाए त्यसरीनै धुलिखेल कल्याणकारीमा आबद्ध परिवारले पनि धुलिखेलको बिकासमा हातेमालो गर्दै नमूना बिकास प्रस्तुत गर्न सकोस् । एकै जात र धर्मका व्यक्ति एकै ठाउँमा बस्दा नयाँ सिकाई कम हुन्छ भन्ने जनसंख्या शिक्षामा उल्लेख गरिएको छ । एकताबद्ध भएर समाजमा एकाकार भएर सामुहिक भावनाका साथ अघि बढ्नुस् । धुलिखेल कल्याणकारीसँग धुलिखेल नगरपालिका सहकार्यमा जुटेर धुलिखेललाई समृद्ध धुलिखेलको परिकल्पना पुरा गर्नुछ’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो ।
कार्यक्रममा धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, निर्वतमान उपप्रमुख बिमला शर्मा, धुलिखेल नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रोमी प्रसाद व्याञ्जू लगायतले धुलिखेलको बिकासमा धुलिखेल कल्याणकारी सेवा समाजले धुलिखेल नगरपालिकासँग सहकार्य गर्दै अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रमको पहिलो सत्रमा संस्थाका अध्यक्ष दिलबहादुर गजुरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा संस्थाका सचिव गायत्रीरमण घिमिरेले प्रगति प्रतिवदन प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा संस्थाका कोषाध्यक्ष भगवती तिमल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी संस्थापक सदस्य प्रल्हाद प्याकुरेलले संस्थाको उदेश्य माथि प्रकास पार्नुभयो । सोही अवसरमा संस्थाका उपाध्यक्ष खड्गप्रसाद सापकोटाले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । संस्थाको लक्ष्य, उदेश्य र भावि योजनाका बारेमा सचिव घिमिरेले परिवारमा सबै सदस्यहरु एक आपसमा मिलेर बस्नु र सामाजिक रुपमा आफ्ना परम्परागत गतिविधि सञ्चालन गर्नु रहेको जानकारी गराउनुभयो । उहाँले विगतको कार्यसमितिले गरेका कार्यक्रमहरु र गतिविधिबारे भए गरेका उपलब्धि, चुनौती र भावी कार्यक्रम निर्णयका लागि समिति समक्ष पेश गर्नुभएको थियो । उहाँले संस्थाको लक्ष्य र योजना यसरी प्रस्तुत गर्नु भएको थियो । परिवार–परिवार मिलेर गरिने सामूहिक गतिविधिमा संलग्न ७७ परिवारका करिव ४ सय जना व्यक्तिहरु संलग्न रहेको बताउनुभयो ।
दोस्रो सत्रमा सचिव घिमिरे र कोषाध्यक्ष तिमल्सिनाले प्रस्तुत गर्नु भएको प्रतिवेदन पारित गर्दै गायत्रीरमण घिमिरेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमित चयन गरेको छ । कार्य समितिमा उपाध्यक्ष खड्गप्रसाद सापकोटा, सचिव भवगती तिमल्सिना, कोषाध्यक्ष खड्ग बहादुर (जीवन) श्रेष्ठ, सदस्यहरुमा जित बहादुर के.सी., सपना ढकाल, अमिन कार्की, ममता लामा (घलान) र तुल्सीराम रिजाल निर्विरोध रुपमा निर्वाचित भएका छन् । उक्त कार्यक्रममा विधानको प्रावधान अनुरुपमा निर्वतमान अध्यक्ष गजुरेल सहित पूर्व अध्यक्षका साथ संस्थाका सुभचिन्तकहरु सहितको ९ सदस्यीय सल्लाहकार समिति गठन भएको निर्वाचन समितिका संयोजक प्रल्हाद प्याकुरेलले जानकारी गराउनुभयो । कार्यक्रममा संस्थाको सेवामा अनवरत रुपमा खट्दै आउँनुभएका जीत बहादुर के.सी., खड्ग बहादुर (जीवन) श्रेष्ठ, बिनु बस्नेत लगायतका सदस्यहरुलाई नगर प्रमुख श्रेष्ठले माला लगाई मायाको चिनो प्रदान गर्दै सम्मान गर्नुभएको थियो ।









