2026 April 25/ 07:59: 36pm

    बनेपा/ईलाका प्रहरी कार्यालय बनेपाले बुधबार बनेपामा आयोजना गरेको नागरिक सुनुवाई तथा अन्र्तक्रिया कार्यक्रममा जनप्रतिनिधिहरुले प्रहरी प्रमुख एसपी चक्रराज जोशी समक्ष प्रहरीको आँखा अगाडी नै किशोर किशोरी लागुऔषध सेवन र चोरीमा संलग्न हुने गरेको तथ्य प्रस्तुत गरे । 
    ‘ईलाका प्रहरी कार्यालय नजिकै छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको सामुन्ने बनेपा पुलबजारको घाटमा दिनभर सुत्ने र रातभर चोर्ने किशोर किशोरीलाई प्रहरीले किन नियन्त्रणमा लिदैन ?’ – बनेपा नगरपालिकाको वडा सदस्य कमलशोभा रञ्जितले भन्नुभयो–‘प्रहरीले नदेखेको कि ? देखेर पनि बेवास्ता गरेको ? स्थानीयले प्रहरीलाई सूचना दिउँ भने जसले सूचना दिन्छ उसले नै प्रहरीको हिरासतमा राखुञ्जेल खाना र खाजाको पैसा तिर्नु परे पछि नागरिकले कसरी दिन्छन् सूचना ?’ उनिहरुको समुहले बनेपाका विभिन्न स्थानमा रातको समयमा बाईक चोर्ने, मान्छे नभएको मौका छोपेर घर फोर्ने गतिविधि गरिरहेको कमलशोभा रञ्जितले बताउनु भयो । 
    वडा सदस्य विजया न्यौपानेले बनेपा नगरपालिका वडा नम्वर ६ का विभिन्न स्थानमा लागु औषध सेवन गर्ने र चोरी गर्ने समुह दिउसै सक्रिय भएको बताउनु भयो । ‘दिउसोको समयमा पसल लुट्ने, घर फोड्ने, मोवाईल लुट्ने बालबालिकाहरु छन्’– वडा सदस्य विजया न्यौपानेले भन्नुभयो–‘लागु औषध प्रयोग गर्नेहरुको संख्या बढिरहेको छ । यसलाई नियन्त्रण गर्न प्रहरीको सहयोग जरुरी छ ।’ वडा सदस्य विष्णुनारायण श्रेष्ठले कक्षा ८,९ र १० अध्ययन गर्ने बालबालिकाहरु बनेपाको भत्तेश्वर आसपास लागु औषध सेवन गरिरहेको हुने बताउनु भयो । नेपाल बैक शाखा बनेपाका प्रवन्धक समिर दाहालले बैकबाट पैसा लिएर जाने बेला हुन सक्ने चोरी तथा लुटपाटका घटना तर्फ सचेत हुनु पर्ने बताउनु भयो । बनेपा नगरपालिकाले शुरु गरेको फुटपाथ ब्यवस्थापन तथा पार्किङ्ग ब्यवस्थापनले बैक तथा अन्य ब्यवसायमा संकट भएकाले बैकल्पिक ब्यवस्थापनका लागि अनुरोध गर्नु भयो । चाडवाड लक्षित सुरक्षा योजनामा यस्ता विषय समावेश गर्न दाहालले अनुरोध गर्नु भयो । 
    स्थानीय सविना श्रेष्ठले किशोर किशोरीहरु कुलतमा लागेकाले नियन्त्रण गर्न स्थानीय सरकारले समन्वय आवश्यक ठानेमा निशुुल्क परामर्श गर्ने बताउनु भयो । प्रेसर हर्न, सडकमा छाडिएका खुल्ला ढलका कारण दुर्घटना बढेकाले सबैको समन्वयमा न्यूनिकरण गर्नु पर्ने उहाँले बताउनु भयो । स्थानीय सुजन मानन्धरले साईबर अपराध बढिरहे पनि प्रहरीले नागरिकहरुलाई न्याय दिन नसकेको बताउनु भयो । ‘म प्रहरीकोमा चारवटा अपराध लिएर गएँ । प्रहरीले नेपाल बाहिरको घटना भएकाले सामाजिक सञ्जाल आफै बन्द गर्नुको विकल्प छैन भन्यो । त्यति कुरा सुन्न पनि दैनिक काठमाडौमा रहेको साईकर ब्युरो पुग्नु प¥यो’–सुजन मानन्धरले भन्नुभयो–‘बेरोजगार युवालाई सिप उपलब्ध गराउँदै अपराध तर्फ उन्मुख हुन रोक्नु प¥यो ।’ 
    विद्यालयका प्रधानाध्यापक लक्ष्मण दाहालले विद्यालय हाता वरपर लागु पदार्थ र मादक पदार्थ सेवन गरेका कारण विद्यालयका बालबालिकाहरुमा नकारात्मक असर परेको बताउनु भयो । स्थानीय गोविन्दप्रसाद घिमिरेले समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भए पनि सदस्यहरुको पहिचान नभएकाले समुदायमा असहज भएको बताउनु भयो । स्थानीय गोपाल तामाङले जोगिको भेषमा चोरहरुको समुह घरमा प्रवेश गरी एक्लै भएको बखत लुटपाट मच्चाउने गरेकाले प्रहरी चनाखो बनिदिन अनुरोध गर्नु भयो । केहि दिन बनेपाको चारदोबाटोमा पाकेटमारले केहि नगद लुट्दै गरेको अवस्थामा नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको स्मरण गराउँदै नागरिकहरुको साझेदारी अपराध नियन्त्रणमा महत्वपूर्ण हुने इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएस्पी रेशम बोहोराले बताउनु भयो । स्थानीयहरुले प्रहरीको सक्रियता रहँदा मात्रै अपराध नियन्त्रणमा सहज हुने सुझाव दिए । 
    कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, बनेपा नगरपालिका प्रमुख प्रशासकिय प्रमुख प्रकाश आचार्य, जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशी लगायतले जिल्लाको सुरक्षा अवस्थालाई सामान्य बनाई राख्न र नागरिकहरुको सुरक्षाका लागि नागरिक प्रहरी साझेदारी आवश्यक रहेको बताएका थिए । प्रहरी प्रमुख एसपी चक्रराज जोशीले सिसि क्यामेरा मर्मत तथा जडान, फरार प्रतिवादी पक्राउ, ब्यवसायीक घरेलु मदिरा नियन्त्रण, चाडपर्व लक्षित विशेष सुरक्षा, लागु औषध नियन्त्रणका लागि सबै पक्षको सक्रियताका लागि अनुरोध गर्नु भयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु सहभागि थिए ।