बनेपा/साबिक बनेपा नगर वरीपरि रहेका आठ गणेश मध्येको शिर गणेशका रुपमा स्थापित वडा नम्बर ८ रहेको तला पुखु गणेश मन्दिरको पुननिर्माण सम्पन्न भएको छ ।
मन्दिरको उद्घाटन तथा गजुर राख्ने कार्य नगर प्रमुख शान्ति रत्न शाक्यले गर्नु भएको छ । नगर प्रमुख शाक्यले नगरपालिकाले नगर भित्र रहेका धार्मिक तथा सँस्कृतिको संरक्षण गर्ने बताउनु भयो । बनेपा नगरपालिका भित्र रहेका विभिन्न मठ मन्दिर, धार्मिक क्षेत्र, सार्वजनिक स्थानहरुको नगरले संरक्षण गर्ने शाक्यले बताउनु भयो । सम्पूर्ण नगरबासीहरुको साथ र सहयोगमा मात्र नगरका सम्पूर्ण विकास निमार्णका काम गर्न सहज हुने शाक्यको भनाई थियो । बनेपा नगरपालिका तथा स्थानिय दाताहरुको आर्थिक सहयोगमा पुननिर्माण भएको कलात्मक गणेश मन्दिरले पर्यटन प्रर्वधन र बनेपाको सौन्दर्यकरणमा समेत मद्दत पुग्ने नगर प्रमुख शाक्यले बताउनु भयो । कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र पोटेले मन्दिर पुनर्निर्माणका लागी बनेपा नगरपालिकाबाट १७ लाख, स्थानीय सहयोगदाताबाट १५ लाख १८ हजार र ८ नम्बर वडा कार्यालयबाट १ लाख ८० हजार गरी जम्मा ३४ लाख ८० हजार प्राप्त भएको बताउनु भयो ।
बनेपा नगरपालिकाका तत्कालीन नगर प्रमुख लक्ष्मी नरसिं बादे र उप प्रमुख रेखा सापकोटा दाहालले २०७८ चैत्र १५ गते शिल्यान्यास गर्नु भएको उक्त मन्दिर समयमै सम्पन्न गर्न सफल भएको उपभोक्ता समिति अध्यक्ष राजेन्द्र पोटेले बताउनु भयो । कार्यक्रममा पूर्व राज्य मन्त्री कन्चनचन्द्र बादे, उपप्रमुख विमला सापकोटा, निवर्तमान प्रमुख लक्ष्मी नरसिं बादे, निवर्तमान उप प्रमुख रेखा सापकोटा दाहाल लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा उपभोक्ता समितिको प्रतिबेदन सचिव हेमन्तराज प्रधानले राख्नु भएको थियो । कार्यक्रममा सहयोगी दाताहरुलाई सम्मान गरिएको थियो भने कार्यक्रमको अध्यक्षता उपभोक्ता समितिका अधयक्ष राजेन्द्र पोटेले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन उपभोक्ता समिति सदस्य विक्रम प्रजापतिले गर्नु भएको थियो ।









