काभ्रे/सिन्धु विकास बैंकले ५ वर्ष १० महिना अवधिमा साँवा रकमको दोब्बर हुने गरी व्यक्तिगत मुद्दती निक्षेप योजना “सिन्धु महा मुद्दती धमाका” संचालनमा ल्याएको छ ।
बैंकले उक्त योजना अन्र्तगत ९ वर्ष ३ महिनामा साँवा रकमको तेब्बर, १३ वर्ष ७ महिनामा साँवा रकमको ५ गुणा तथा १९ बर्ष ५ महिनामा साँवा रकमको १० गुणा भुक्तानी हुने व्यक्तिगत मुद्दती निक्षेप योजनाहरु समेत सार्वजनिक गरेको छ । बैंकले उक्त योजनाका लागी “सबैभन्दा अब्बल, पैसा हुन्छ डबल” भन्ने लोकप्रिय नारा समेत सार्वजनिक गरेको छ । उक्त योजनामा सहभागी हुन कुनै पनि व्यक्तिले कम्तिमा रु.२५,०००÷– जम्मा गर्नु पर्नेछ भने आवश्यक परेमा खातामा जम्मा भएको रकमको अधिकतम् ९० प्रतिशत रकम कर्जा समेत लिन सकिनेछ ।
सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकको रुपमा स्थापित बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र एउटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तबरले सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सन्ध्याकालिन बैकिङ्ग सेवा, मोवाईल बैकिङ्ग, SCT डेबिट कार्ड, SMS Banking, QR Code, C–ASBA सेवा, QR Teller सेवा जस्ता अत्याधुनिक बैकिङ्ग सेवाहरु प्रदान समेत गर्दै आईरहेको छ ।









