2026 April 25/ 06:16: 30pm

    बनेपा/नेपाल केनशिनकान कराँते संघ काभ्रेको आयोजनामा बनेपामा राष्ट्रिय खुल्ला फुल कन्ट्याक्ट कराँते प्रतियोगिता आयोजना गरिएको छ । १२ जिल्लाका १ सय ५० खेलाडीहरुले प्रतियोगितामा विभिन्न तौल समुहमा प्रतिस्पर्धा गरेका छन् । 
    प्रतियोगिताको उद्घाटन बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख शान्तिरत्न शाक्यले नगरपालिकामा हुने राष्ट्रिय स्तरका प्रतियोगिताहरुलाई स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताउनु भयो । बनेपामा कबर्ड हल तथा अन्य खेलसँग सम्बन्धित संरचनाहरु निर्माणका लागि आवश्यक ब्यवस्थापन गर्ने तयारीमा स्थानीय सरकारले प्राथमिकता दिएकाले खेललाई अनुशासित बनाएर खेल्न खेलाडीहरुलाई अनुरोध गर्नुभयो । पूर्व राज्यमन्त्री कञ्चनचन्द्र बादेले प्रतियोगिताले सम्बन्धसँगै ब्यक्तिको क्षमता विकास हुने बताउनु भयो । अध्यक्ष कपिलदेव थापाले पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा विभिन्न जिल्लाबाट सहभागी भएका खेलाडीहरुलाई स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गर्नु भयो । कार्यक्रममा अध्यक्ष थापा, उपाध्यक्ष एवं कराँते खेलका नेपाल ब्रान्च चिफ रहदेव पोटे, विमलकुमार श्रेष्ठ लगायतलाई प्रंशसापत्रद्वारा सम्मान गरिएको थियो । अन्य खेलाडीहरुलाई पनि हौसला स्वरुप सम्मान गरिएको थियो । 
    बनेपाको लायकु मञ्चमा आयोजित कार्यक्रममा १२ जिल्लाका विभिन्न तौल समुहका १ सय ५० खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन् । पुरुषतर्फ ३५, ४५, ५५ केजी र हेभिवेट खुल्ला तथा महिला तर्फ ३५, ५० र हेभिवेट खुल्ला तर्फको विद्यामा प्रतिस्पर्धा गराईएको छ । प्रत्येक तौल समुहका प्रथम, दोश्रो र तेश्रो हुनेलाई नगद सहित ट्रफी, मेडल तथा प्रमाणपत्र उपलब्ध गराईनेछ । प्रथम हुनेले १५ हजार, दोश्रो हुनेलाई १० हजार र तेश्रो हुने दुई जनाले ५÷५ हजार नगद पाउनेछन् । प्रतियोगितालाई विभिन्न संघ संस्थाले सहयोग गरेका थिए । विजयी खेलाडीहरुलाई जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले पुरस्कार वितरण गरेका थिए ।