श्रीखण्डपुर/पनौती नगरपालिका वडा नम्वर ५ मा रहेको धुलिखेल र बनेपाको सिमानाको विन्ध्यावासिनी मन्दिर परिसरमा रहेको श्रीखण्डेश्वर महादेवलाई १००८ कमल पुष्प बेलपत्र अर्पण गरिएको छ । साउनको चौथो सोमबार विशेष दिनको अवसर पारी भारतबाट झिकाईएको कमल पुस्प तथा बेलपत्र अर्पण गरिएको हो ।
साउन शुक्ल एकादशी अर्थात पुत्रदा एकादशी व्रतको अवसर पारी पनौती–५ श्रीखण्डपुरस्थित विन्ध्यावासिनी आध्यात्मिक प्रतिष्ठानको प्राङ्गणमा १००८ वटा कमल पुष्प तथा बेलपत्रले श्रीखण्डेश्वर महादेवमा अर्पण गर्दै महाभिषेक कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका संस्थापक परमाध्यक्ष श्रोत्रिय ब्रह्मनिष्ठ अनन्तश्री विभूषित स्वामी श्रीनि–शेषानन्द महाराजले बताउनु भयो । विन्ध्यावासिनी प्रतिष्ठानले चर्तुमासको कार्यक्रम निरन्तर गरिरहेको छ भने गुरुकुल शुभारम्भ गरेको छ । अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाका अनुसार आउँदो शुक्रबार साउन २७ गते जनैपुर्णिमा, रक्षा बन्धन, संस्कृत दिवसको अवसर पारी विशेष रक्षा बन्धन कार्यक्रम आयोजना गरिएको छ ।
गुरुपुर्णिमाको अवसरमा संस्थाका परामाध्यक्ष श्रोत्रिय ब्रम्हनिष्ठ अनन्त विभुषित स्वामी श्रीनि शेषानन्द महाराजको सानिध्यमा गुरुपुजनोत्सव, गुरुगुल समुद्घाटन, नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा चतुर्मासमा प्रवचन गरेको थियो । गुरुकुल शुभारम्भ हुनु अघि नवाह आयोजना गरिएको थियो । सोहि अवसरमा विन्ध्यावासिनी मन्दिरको प्राण प्रतिस्ठा गरिएको थियो । विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको उक्त मन्दिर निर्माणका लागि विन्ध्याबासिनी कुलदेवता भएका सबै ब्यक्तिहरुलाई आग्रह गरिएको छ ।









