2026 April 25/ 04:24: 20pm

    धुलिखेल/‘स्वस्थ शहर, धुलिखेल नगर’ कार्यक्रम अन्तर्गत धुलिखेल नगरपालिकालाई क्षयरोगमुक्त नगर बनाउने अभियान जारी छ ।
गत वर्षको फागुनबाट नगरबासीको स्वास्थ्य सम्बन्धी प्रोफाइल नै तयार गरी कार्यक्रम सुरु गरिएको हो । अहिलेसम्म धुलिखेलमा ३५ जनामा क्षयरोगको संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले जानकारी दिनुभयो । सबैभन्दा बढी वडा नम्बर ५ मा १२ जना क्षयरोगका बिरामी भेटिएका छन् भने वडा नम्बर १ र ११ मा एक जना पनि संक्रमित भेटिएका छैनन् । नगरपालिकाको तथ्यांक अनुसार गाउँमा भन्दा शहरमा संक्रमण धेरै देखिएको छ । क्षयरोग स्वासप्रश्वासको माध्यमबाट लाग्ने संक्रामक रोग हो । नगरपालिकाले स्वास्थ्य संस्थामा आउने सेवाग्राहीमा क्षयरोग भए÷नभएको जाँच गर्ने गरेको छ ।
    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाइका अनु्सार जिल्लामा २ सय ५९ जना क्षयरोगी छन् । सबैभन्दा बढी १५ देखि ३५ वर्ष उमेर समुहमा क्षयरोग देखिएको छ । यस्तै, पछिल्लो ४ वर्षमा जिल्लामा क्षयरोगका कारण ९ जनाले ज्यान गुमाएका छन् । नेपालमा प्रत्येक दिन ४४ जना बिरामीको मृत्यु क्षयरोगकै कारण हुने तथ्यांकले देखाएको छ । यस्तै, कुल जनसंख्याको ४५ प्रतिशत व्यक्तिहरु क्षयरोगबाट संक्रमित रहेको अनुमान गरिएको छ । नागरिक समाज र पत्रकारहरु बीचको अन्र्तक्रिया कार्यक्रममा उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल लगायतले क्षयरोग मुक्त नगरपालिका घोषणाका लागि आवश्यक तयारीमा जुट्नु पर्ने बताउनु भयो ।