– सवा लाख बेलपत्र चढाउँदै ११ लाख दिप प्रज्वलन गर्ने
बनेपा/पनौती नगरपालिका वडा नम्वर ३ त्रिवेणी धाम पशुपति मन्दिरमा साउन २९ गते शनिबार देखि सोमबार ३० गतेसम्म पाशुपत ब्रह्मश्री विल्वार्चन महाअनुस्ठान भजन किर्तन साँस्कृतिक कार्यक्रम, जप पाठ, लघुरुद्री, सवा लाख बेलपत्र अर्चना सहितको अनुस्ठान हुने भएको छ ।
अनुस्ठानका बारेमा जानकारी दिन बनेपामा आयोजित पत्रकार सम्मेलनमा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद सापकोटाले उक्त क्षेत्रको पुर्वाधार निर्माणमा स्थानीयहरुले चन्दादान, स्थानीय सरकार तथा प्रदेश सरकारको समेत सहयोगमा धार्मिक अनुस्ठान निर्माणमा सहयोग पुगेको बताउनु भयो । श्रीविश्वप्रकाशदासले संत्सङ्कल्पगत नेतृत्वमा बैदिक सनातन धर्मको श्रीबृद्धी, विश्वशान्ति, राष्ट्रकल्याण देशमा स्थिरता प्राणीजनमा सद्भावनाको विकास तथा पशुपति क्षेत्रको सर्वपक्षीय महत्व उजागारका लागि त्रिदिवशीय महा–अनुष्ठान आयोजना गरिएको हो । गजेन्द्रमोक्ष संस्कृत परिषद्को सहयोगमा हुन लागेको उक्त अनुष्ठानमा सहभागिताका लागि आयोजकहरुले अनुरोध गरेका छन् ।
महाअनुष्ठानमा साउन २८ गते शनिबार सामुहिक संकल्प, मन्त्र जप एवं ६ घण्टा अखण्ड हरिनाम संकितर्नको शुभारम्भ हुनेछ । २९ गते हरिनाम संकिर्तन पश्चात विशेष आर्कषण श्रीगजेन्द्रमोक्ष संस्कृत परिषद्बाट शास्त्रिय संगीत जनचेतनामुलक झाँकी एवं सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ । साउन ३० गते सोमबार विहान ७.५५ बजे १२१ कर्ताद्वारा विश्वशान्ति राष्ट्रकल्याणका लागि पशुपति आराधना गर्नेछन् भने ११ जना ब्रम्हाणद्वारा लघुरुद्राभिषेक गर्नेछन् । त्यस्तै १० जना व्रम्हाणद्वारा वातावरण स्वच्छताका लागि विशेष हवन हुनेछ । ११.५५ देखि १२१ कर्ताद्वारा शिबलिङ्गमा सवा लाख बेलपत्र अर्चना हुनेछ । श्रीसभाको उद्घाटन पश्चात ६.५५ देखि ११ लाख दिप प्रज्वलन एवं महाआरति र फुल प्रसादी वितरण हुनेछ । पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष अर्जुनप्रसाद सापकोटा, साधक योगी श्रीविश्वप्रकाशदास, सदस्य कृष्णप्रसाद सापकोटा, मुक्तिनाथ मन्दिरका पुजारी मुकुन्द पराजुली, काभ्रे उद्योग बाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोके लगायतको सहभागिता रहेको थियो ।









