धुलिखेल/नेपाल लेखापढी कानून ब्यवसायी एसोसिएसन जिल्ला कार्य समिति काभ्रेपलाञ्चोकले जिल्लाको धुलिखेल, पनौती र पाँचखाल नगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै तत्काल जग्गा बर्गिकरण गरी नागरिकहरुको जग्गा किनबेच गर्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेका छन् । जिल्लाका १३ वटा पालिकामा क्रमश ज्ञापन पत्र बुझाउने अध्यक्ष रोशनकुमार श्रेष्ठले बताउनु भयो ।
धुलिखेलमा उपप्रमुख निराजन जंगम, पाँचखालमा उपप्रमुख सुर्यमाया दनुवार र पनौतीमा नगर प्रमुख रामशरण भण्डारीलाई भू–उपयोग ऐन, २०७६ तथा भू–उपयोग नियमावली २०७९ तथा भूमिब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको परिपत्रलाई तत्काल कार्यान्वयन गर्न अनुरोध गरिएको अध्यक्ष रोशनकुमार श्रेष्ठले बताउनु भयो । ‘जग्गाको स्थायी तथा अस्थायी बर्गिकरण नहुँदा कारोवार ठप्प भएको छ’–अध्यक्ष रोशनकुमार श्रेष्ठले भन्नुभयो–‘नागरिकहरुले जग्गा कित्ताकाट गरेर विक्री गर्न पाउने अधिकार तत्काल सुुनिश्चित गर्ने अभियानमा स्थानीय सरकारको सक्रियता आवश्यक छ ।’ केन्द्रिय परिपत्र अनुसार नेपाल लेखापढी कानून ब्यवसायी एशोसिएसनले ज्ञापन पत्र बुझाएको जिल्ला सचिव कुमार मैनालीले बताउनु भयो । जग्गा बर्गिकरणका लागि स्थानीय भू–उपयोग परिषद सम्वन्धित पालिकाहरुले गठन गर्नु पर्ने ब्यवस्था छ ।
ज्ञापनपत्र बुझ्दै धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगमले तत्कालै स्थानीय भू–उपयोग परिषद् गठन गरी जग्गाको बर्गिकरण गर्ने बताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले धुलिखेल नगरपालिकाले २०७४ सालसम्मको जग्गाको बर्गिकरण गरी प्राविधिक कार्य सकिएको बताउनु भयो । केहि कार्य बाहेक अधिकांश कार्य सकिएकाले धुलिखेल नगरपालिकाले केहि दिनमा नै जग्गाको बर्गिकरण गर्ने लुईटेलले बताउनु भयो । पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले ज्ञापन पत्र बुझ्दै ऐन कानुन अनुसार जग्गाको बर्गिकरण गर्ने बताउनु भयो । पाँचखाल नगरपालिका उपप्रमुख सुर्यमाया दनुवारले पाँचखाल नगरपालिकाले यस अघि गरेको बर्गिकरणलाई ऐन अनुसार थप ब्यवस्थित गरी निर्णय गर्ने बताउनु भयो । सरकारले जग्गा बर्गिकरण गरेर मात्रै कारोवार गर्न परिपत्र गरे सँगै ७ सय ५३ मध्ये केहि पालिकाले उक्त निर्णय कार्यान्वयन गरिसकेका छन् ।









