2026 April 25/ 03:06: 21pm

धुलिखेल/खाद्य प्रविधी गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेपलाञ्चोकले जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दर्ता भई उत्पादन गरिरहेका चारवटा उद्योग विरुद्ध मुद्दा दर्ता गरेको छ । अनुज्ञापत्र नलिईकन उत्पादन गर्ने तथा दुषित सामाग्री उत्पादन गरी लेवल नराखी उत्पादन गर्ने उद्योगहरु विरुद्ध अघिल्लो आर्थिक वर्ष भित्र विभिन्न मितिमा मुद्दा दायर गरेको हो । 
    मुद्दा दर्ता गरिएका उद्योगहरुमा बनेपा ८ मा रहेको इभर फ्रेस वेकरी एण्ड फुड प्रोडक्टस, जेएम दाना उद्योग, बनेपा ८, तिमल्सिना प्याकेजीङ्ग एण्ड फुड प्रोडक्सट र चण्डेश्वरी स्पेशल ताजा गुदपाक रहेका छन् । इभर फ्रेसले लेवल नराखी सामान विक्री गरेको अभियोगमा २०७९ बैशाख १२ गते मुद्दा दर्ता गरिएको छ भने दाना उद्योगले गाई भैसीको दाना दुषित उत्पादन गरेको अभियोगमा २०७९ बैशाख २ गते मुद्दा दर्ता गरिएको छ । त्यस्तै तिमल्सिना प्याकेजिङ्गले अनुज्ञापज्ञ विना चिया उत्पादन गरी विक्री गरेको अभियोगमा २०७८ कार्तिक १७ गते मुद्दा दर्ता गरिएको छ भने गुदपाक भण्डारले पनि अनुज्ञापत्र नलिई विक्री वितरण गरेको अभियोगमा २०७९ जेठ २६ गते मुद्दा दर्ता गरिएको छ । देशभरका १ सय १५ वटा उद्योगलाई विभिन्न जिल्ला अदालतमा प्रविधि तथा गुण नियन्त्रण विभागले मुद्दा दायर गरेको छ । गुणस्तरहीन तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्ने उक्त उद्योग विरुद्ध विभागले जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
    विभागले गत आर्थिक वर्ष २०७८÷७९ मा देशभरका ४ हजार १ सय २७ वटा उद्योगबाट उत्पादित नमूना परीक्षण गर्दा २ सय २४ वटा नमूना खान नमिल्ने पाइएको जानकारी दिएको छ । यीमध्ये १ सय १५ वटा उद्योगलाई भने जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्धा नै दायर गरिएको हो । उद्योगहरूले खान अयोग्य तथा न्यून गुणस्तरका र अखाद्य वस्तु मिसावट गरेर खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्दै आएका थिए ।