पनौती/पनौती नगरपालिका वडा नम्वर ४ मा कम्युटर अपरेटर सुरेन्द्र तामाङलाई कुटपिट गर्ने स्थानीय सुवास थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका थापालाई अभ्रद ब्यवहार गरेको अभियोगमा मुद्दा चलाईएको छ ।
वडा अध्यक्ष दिपकप्रसाद दाहाल, सचिव राजकुमार श्रेष्ठ लगायतका कर्मचारीहरु स्वास्थ्यको बैठकमा सहभागि भएका बेला सिफारिस लिन आएका थापालाई केहि बेर पर्खन आग्रह गरेका तामाङलाई थापाले मुख छाडेर कुटपिट गरेका थिए । ‘मलको डिलर सम्बन्धी सिफारिस लिन आएका सुवास थापालाई केहि बेर पर्खन अनुरोध गरेको थिएँ । ढिला भएको भए साँझ घरमै ल्याईदिन्छु भन्दा समेत उहाँले मान्नुभएन’– कम्प्युटर अपरेटर तामाङले भन्नुभयो–‘एक्कासी उहाँले मुख छाड्नु भयो । जातिय कुरा गर्नुभयो । पछि मुक्का र खुट्टाले प्रहार गर्नु भयो ।’ तत्कालै वडा अध्यक्ष, वडा सचिवलाई जानकारी गराएका तामाङले न्यायका लागि नगरपालिकालाई अनुरोध गरेका थिए । शुक्रबार भएको घटना पछि स्थानीयहरुले कानुनी कारवाहीको सल्लाह दिए सँगै वडा समितिको निर्णय र नगरपालिकाको निर्णय अनुसार पनौती प्रहरी चौकीले थापालाई आईतबार पक्राउ गरेको थियो । यता जिल्ला स्थित कर्मचारीहरुका संगठनहरुले प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई कर्मचारीलाई कुटपिट गर्ने ब्यक्तिलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । कुटपिट पछि परिवार र आफन्तले मिलापत्रका लागि दबाब दिएको भए पनि प्रहरीले कर्मचारी कुटपिट गर्ने थापालाई जाहेरीका आधारमा मुद्दा दर्ता गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिनु भयो ।









