2026 April 25/ 02:31: 16pm

– सचेत रहन चिकित्सको अनुरोध
    धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा डेँगुका विरामीको संख्या थपिदै जान थाले पछि स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक र स्थानीय तहमा रहेका स्वास्थ्य शाखाहरु मार्फत नागरिकलाई सचेत रहन जनचेतनामुलक कार्यक्रम शुरु गरिएको छ । डेँगुको पहिचान भईसकेका विरामीहरुको घरमा पुगेर स्वास्थ्यकर्मीहरुको टोलीले संक्रमणको श्रोत पहिचान गरी जोखिम हुन नदिन प्रभावकारी अनुगमनलाई जोड दिएको छ ।
    ‘जिल्लाको धुलिखेल, बनेपा, पनौती लगायतका स्थानमा डेँगु रोगको संक्रमण देखिएको छ’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईले भन्नुभयो–‘९ जना पहिचान भएकोमा ६ जना जिल्ला भित्र र ३ जना बाहिरी जिल्लाका हुनुहुन्छ ।’ काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा १, धुलिखेलमा ३ र पनौतीमा दुई जनामा डेँगु पुष्टी भएको छ । जसमध्ये ४ पुरुष र दुई महिला छन् । काठमाडौ जिल्लाको एक, दोलखा एक र सिन्धुपाल्चोक मेलम्ची घर भएकी एक महिलामा डेँगु पुस्टी भएको छ । सामान्य ज्वरो आएर उपचार गराउन आएकी महिलामा असार १७ गते डेँगु देखिएको थियो । उहाँको केएमसी अस्पतालको आईसियुसमा उपचार भईरहेको छ । उहाँ बाहेक अन्य विरामीको अवस्था सामान्य छ । सबै विरामी घरमा उपचार भईरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. सेढाईले भन्नुभयो ।
    विरामी भएका सबै ब्यक्तिहरुको घरमा स्वास्थ्कर्मीहरुको टोली पुगेर स्वास्थ्य अवस्था तथा डेँगु हुन सक्ने सम्भावित अवस्था र त्यसका जोखिमहरुका बारेमा जानकारी गराएको छ । बनेपा ८ स्थित एक विरामीको घरमा पुगेको स्वास्थ्यकर्मीहरुको टोलीले विरामीको अवस्थाका बारेमा सोधपुक्ष गरी परिवारका सदस्यहरुको समेत परिक्षणका लागि रगत संकलन गरेको छ । बनेपा नगरपालिकाको स्वास्थ्य शाखाको टोली पनि विरामीको घरमा पुगेर वर्षातको समयमा जम्ने पानीको ब्यवस्थापन गर्न सल्लाह दिएको थियो । वर्षातको समयमा परेको पानी विशेषगरी प्लास्टिकको भाँडा, टायर, पानीको ड्रम, गमला, फलामका कराई तथा अन्य साना साना भाँडाहरुमा जमेको शुद्ध पानीमा लामखुट्टेले डेँगु सार्न सक्ने अवस्था हुन सक्छ । ‘पानी जम्न नदिन, झुल लगाएर सुत्न र लामखुट्टेको टोकाईबाट बच्न अनुरोध गरिरहेका छौं’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाँईले भन्नुभयो–‘डेँगुका कारण हुन सक्ने सम्भावित जोखिमबाट बच्न नागरिकहरु सचेत हुनु जरुरी छ ।’
    डेँगु देखिएका बनेपा ८ का विरामी मकवानपुर पुगेर फर्किएका थिए । उनको घर अगाडी रहेको खुल्ला ढल तथा विद्यालय अघि रहेको जमेको पानी रोगको अर्काे सम्भावित जोखिम रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । स्थानीयहरुले खुल्ला ढलको ब्यवस्थापन गर्न पटक पटक बनेपा नगरपालिका तथा वडा कार्यालय मार्फत अनुरोध गरेको भए पनि बेवास्ता भएको गुनासो गरेका छन् । स्थानीयहरुले तत्काल उक्त स्थानको ढल ब्यवस्थापनका लागि नगरपालिकासँग अनुरोध गरेका छन् ।