2026 April 25/ 01:13: 38pm

    धुलिखेल/जिल्ला अदालत काभ्रेपलाञ्चोकले आर्थिक वर्षको अन्त्यमा बार्षिक समिक्षा गरी भए गरेका कृयाकलापहरुका बारेमा संचारकर्मीहरुलाई जानकारी गराएको छ । कोभिड महामारी, निर्वाचन तथा तीन जना न्यायाधिशको स्थानमा दुई जना न्यायाधिश मार्फत गरिएका गतिविधिहरु सन्तुष्ट रहेको श्रेस्तेदार गोविन्द घिमिरेले बताउनु भयो ।
    काभ्रे जिल्ला अदालतको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक कार्यसम्पादन विवरणमा घिमिरेले जिम्मेवारी सरेको १ हजार २ सय २२ थान मुद्दामा नयाँ दर्ता १ हजार ७ सय १५ गरी २ हजार ९ सय ३७ वटा रहेको बताउनु भयो । अदालतले अनुमान गरेको भन्दा ४ सय ३ थान मुद्दा धेरै दर्ता भएको श्रेस्तेदार घिमिरेले बताउनु भयो । दर्ता भएका र जिम्मेवारी सरि आएका मध्ये १ हजार ३ सय ७८ वटा फर्छ्यौट भएका छन् । प्रतिशतका आधारमा यो ४६.९२ प्रतिशत हो । तर लक्ष्यको तुलनामा अदालतले ८३.२१ प्रतिशत मुद्दा फैसला गरेको छ । चालु आर्थिक वर्षका लागि १ हजार ५ सय ५९ थान मुद्दा जिम्मेवारी सरि आएको श्रेस्तेदार घिमिरेले बताउनु भयो ।
    तीन जना न्यायाधीशहरुको दरबन्दी रहेकोमा वर्ष भरी नै २ जना न्यायाधीश मात्र कार्यरत रहेको हुँदा फर्छयौट कम हुन गएको घिमिरेले बताउनु भयो । विगत तीन वर्षमा प्रति इजलास मुद्दाको औषत लगत संख्या ६ सय ७२ रहेकोमा गत आर्थिक वर्षमा १ हजार ४ सय ६७ रहेको थियो । एक जना न्यायाधिश बराबर वर्ष भरी ५ सय मुद्दाको जिम्मेवारी हो । अदालतले फैसलासँगै कार्यान्वयनलाई पनि प्राथमिकता दिएको छ । समिक्षा कार्यक्रममा जिल्ला न्यायाधिश मोहनराज भट्टराई, न्यायाधिश महेन्द्रराज काफ्ले लगायतको सहभागिता रहेको थियो ।