2026 April 25/ 12:44: 55pm

बनेपा/पोर्टेज तथा पुनस्र्थापना संस्था नेपाल, पाँचखाल न.पा. र नमोबुद्ध न.पा.को आयोजना तथा बागमती प्रदेश, सामाजिक विकास मन्त्रालय, हेटौडाको समेत आर्थिक अनुदान सहयोगमा १–१ दिने अपाङ्गता सम्बन्धि सचेतना कार्यक्रम पाँचखाल न.पा. तामाघाट र नमोबुद्ध न.पा.,भकुण्डेबेशीमा सम्पन्न भएको छ । दुबै पालिकाहरुमा सम्बन्धित पालिकामा कार्यरत महिला स्वास्थ्य स्वयसेविका, स्वास्थ्य तथा शिक्षा शाखा कर्मचारीहरु, जनप्रतिनिधिहरु, अपाङ्गता क्षेत्रमा कार्यरत स्थानिय संस्थाका प्रतिनिधिहरु लगायत करिब १०४ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको शुभारम्भ पाँचखाल न.पा.मा सोही न.पा.का उपप्रमुख सूर्यमाया दनुवार र नमोबुद्ध न.पा.मा महिला, बालबालिका उपशाखाका प्रमुख तारा सुनुवारले गर्नु भएको थियो ।
सो सचेतना कार्यक्रममा अपाङ्गता क्षेत्रमा करिब ३५ बर्ष अगाडि देखि निरन्त कार्यरत मणिराज श्रेष्ठ र सोही क्षेत्रमा कार्यरत चन्द्रमान तामाङबाट अपाङ्गताको परिभाषा र प्रकार, विकासमा ढिलाई, अपाङ्गता हुन सक्ने कारणहरु, रोकथामका उपायहरु ,अपाङ्गतको बर्गिकरण र सेवा सुबिधाहरु, अपाङ्गता परिचय पत्र कार्ड र यसका प्रक्रियाहरु, पोर्टेज छिटो प्रतिरोधात्मक कार्यक्रमको परिचय, प्रमुख सामग्रीहरु पोर्टेज चेकलिष्ट र कार्डहरु, समाहित शिक्षाको सामान्य जानकारी, हाल संस्थाबाट संचालन भईरहेका कार्यक्रमहरु लगायतका बिषय बस्तुहरुमा सहजिकरण गर्नु भएको थियो ।
साथै सोहि कार्यक्रमा आ–आफ्नो न.पा.बाट अपाङ्गता भएका ब्यक्तिहरुको लागि भएका र आगामी दिनमा हुने कार्यक्रमहरुको बारेमा सम्बन्धित न.पा.का महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुखहरु पाँचखाल न.पा.का पुण्य देवी श्रेष्ठ र नमोबुद्ध न.पा.का तारा सुनुवारबाट जानकारी दिनु भएको थियो भने कार्यक्रमको समापन पाँचखाल न.पा.मा उपप्रमुख सूर्यमाया दनुवारबाट र नमोबुद्ध न.पा.मा प्रमुख प्रशासकिय अधिकृत राजन पौडेलबाट भएको थियो ।