बनेपा/जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेको आयोजनामा बेथानचोक गाउँपालिकामा पालिका अध्यक्ष भगवान अधिकारीको संयोजकत्वमा पालिकास्तरिय नागरिक आरोग्य समिति गठन गरेको छ ।
नागरिक आरोग्य सम्बन्धि अभिमुखीकरणका अभियान संचालन गरेको थियो । अभियान कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले हरेक नागरिकलाई स्वस्थ बनाउने अभियान सञ्चालन गरिने बताउनु भयो । नागरिक आरोग्य सेवा केन्द्र मार्फत नागरिक आरोग्य अभियानलाई पालिकाभरि संचालन गर्ने बेथानचोक गाउँपालिकाको नीति तथा कार्यक्रम नै रहेको र सो अभियान संचालनका लागि बजेटको पनि व्यवस्था गरिएको अधिकारीले बताउनु भयो । नागरिक आरोग्य केन्द्र तथा नागरिक आरोग्य अभियानलाई पालिका भरी बढाउँदै लाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा निर्वतमान गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिना, उपाध्यक्ष तारा राना तिमल्सिना, वडा नम्बर १ का वडा अध्यक्ष तथा प्रवक्ता मधुसुदन तिमल्सिना, चेष्टा साप्ताहिकका सह–सम्पादक लक्ष्मण तिमल्सिना लगायतले आयुर्वेदका बारेमा मन्तव्य राख्नु भएको थियो । कार्यक्रमका सभापति तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. मनोज कुमार चौधरीले नागरिक आरोग्य अभियान अन्तर्गत संचालन हुने क्रियाकलापहरुको बारेमा जानकारी गराउनु भएको थियो । उक्त अभियानले समाजमा बढ्दै गई रहेको नसर्ने रोगहरुको न्यूनीकरण भई स्वस्थ र समृद्ध समाज निर्माण हुने चौधरीले बताउनु भयो । चौधरीले बागमती प्रदेश स्तरीय आयुर्वेद औषधि निर्माण केन्द्र संचालनमा आएको र सो केन्द्रले बागमती प्रदेशकै जडिबुटीहरु उपयोग गर्ने भएकोले जडिबुटी खेती संरक्षण र संकलन गरि आम नागरिकको आय–आर्जन बढाई समृद्धिको यात्रा तय गर्न सकिने बताउनु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य आयुर्वेद स्वास्थ्य केन्द्रका वरिष्ठ कविराज निरीक्षक रमेश प्रसाद पनेरुले र सञ्चालन लेखा प्रमुख कृष्णप्रसाद पराजुली गर्नु भएको थियो ।
कार्यक्रममा वडा अध्यक्षहरु, स्वास्थ्य शाखाका प्रमुख, स्वास्थ्यकर्मीहरु, महिला स्वयंसेविकाहरु, शिक्षा शाखाका प्रमुख, विद्यालयका प्रधानाध्यापकहरु, समाजसेवीहरु लगायतको सहभागिता रहेको थियो । त्यसैगरी नागरिक आरोग्य सेवा केन्द्र रहेका वेथानचोक गाउँपालिका वडा नम्वर २ मा वडा अध्यक्ष पुरुषोत्तम तिमल्सिनाको अध्यक्षतामा समुदाय स्तरीय नागरिक आरोग्य समिति गठन भएको छ । वडा अध्यक्ष तथा समुदाय स्तरीय नागरिक आरोग्य समितिका संयोजक पुरुषोत्तम तिमल्सिनाले विद्यालयहरु एवं टोल टोलमा नागरिक अभियान संचालन गरि स्वास्थ्य सम्बन्धि जनचेतना अभिबृद्धि गराईने प्रतिबद्धता जनाउनु भयो ।









