पारित भयो बनेपाको बजेट
बनेपा/बनेपा नगरपालिकाको बजेट पारित भएको छ । शुक्रबारको नगरसभाबाट आर्थिक वर्ष २०७९/०८० को बजेट पारित भएको हो । १० असारमा नगरले १ अर्ब ५५ करोड २४ लाख ८४ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
सभामा छलफल भएपछि बजेट सर्वसम्मत पारित भएको नगरले जनाएको छ । सभामा उप–प्रमुख विमला सापकोटाले कूल आयमा आन्तरिक आय ३३ करोड २४ लाख २७ हजार अनुमान गरिएको बताउनु भएको थियो । सभामा अघिल्लो आ.ब.को अ.ल्या. हुने रकम समेत आन्तरिक रुपमा जम्मा आन्तरिक आय तर्फ कुल ७७ करोड ९३ लाख ३० हजार १६० हुने अनुमान गरिएको छ । बाह्य स्रोतबाट जुट्ने अनुमान गरिएको कुल रु. ७७ करोड ३१ लाख ५४ हजार देहाय बमोजिम प्राप्त हुने अनुमान गरिएको सापकोटाले बताउनु भयो । त्यसैगरी खर्च तर्फ आर्थिक विकासतर्फ जम्मा रु. ५ करोड ३३ लाख ७० हजार, सामाजिक सुरक्षा तथा पञ्जीकरण तर्फ रु. ३५ लाख गरी जम्मा रु. ३८ करोड ९९ लाख ७५ हजार, पूर्वाधार विकास तर्फ कुल रु. ७३ करोड ७१ लाख ५३ हजार, बन तथा वातावरण क्षेत्र तर्फ रु रु. ३ करोड ४६ लाख ५९ हजार संस्थागत विकास तर्फ कुल रु. ३३ करोड ७३ लाख २६ हजार, कुल रु. १ अर्व ५५ करोड २४ लाख ८४ हजार विनियोजिन गरिएको सापकोटाले बताउनु भयो । सभामा सदस्यहरुले बजेट सम्बन्धी राखेका जिज्ञासाका जवाफ दिदै उप प्रमुख सापकोटाले बजेटले नसमेटिएका कतिपय योजनाहरुलाई आगामी वर्षहरुमा समेट्दै जाने बताउनु भएको थियो । नगर सभाका अध्यक्ष तथा नगर प्रमुख शान्तिरत्न शाक्यले सम्पूर्ण कार्यपालिका तथा नगर सदस्यहरुको सहयोगमा बजेट पारदर्शी रुपमा खर्च हुने विश्वास राख्नु भयो । धेरै कुरा नीति तथा कार्यक्रममा समेटेको र नगरलाई स्वच्छ खानेपानी, हरियाली, धुलो र हिलो मुक्त बनाउने योजनामा सबैको साथ सहयोग हुने बताउनु भयो ।
सभामा उप–प्रमुख विमला सापकोटाले न्यायिक समितिको भए गरेका काम सम्बन्धी विवरण सभामा प्रस्तुत गर्नु भएको थियो । न्यायिक समितिले आ.ब. २०७६ देखी २०७८ सम्म उजुरी संख्या ३० मिलापत्र ९ कार्यान्वयनमा रहेका ७ निर्णय भएका अदालत जान सुनाएका १४ वटा रहेको बताउनु भएको थियो । सभामा न्यायिक समितिमा सदस्य वडा नम्बर ६ की सदस्य कमला दमै र वडा नम्बर १३ का राजु मधिकर्मी रहेको जानकारी दिएको थियो । दशौं नगरसभाको दोस्रो बैठकबाट सर्वसम्मत रुपमा आर्थिक वर्ष २०७९÷८० को नीति तथा बजेट पारित भएको प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्यले जानकारी दिनुभयो ।
एक दिने निःशुल्क स्वास्थ्य शिविर
बनेपा/नेपाल हृदयरोग निवारण प्रतिष्ठान र बनेपा नगरपालिका वडा नम्बर ७ को आयोजनामा निःशुल्क मुटु रोग परीक्षण तथा महिला प्रजन्न स्वास्थ शिबिर सम्पन्न भएको छ ।
शिबिरको उद्घाटन नगर प्रमुख शान्तिरत्न शाक्यले गर्नु भएको थियो । शाक्यले नगरबासीहरुलाई स्वस्थ राख्नु नगरपालिकाको कर्तव्य भएकाले यस्ता शिविरहरु १४ वटै वडामा सञ्चालन गरिने बताउनु भयो । नगरपालिका एक्लैले मात्र सम्भव नभएकाले नगर भित्र रहेका विभिन्न संघ संस्थाहरु सँग समन्वय गर्दै विभिन्न कार्यक्रमहरु गर्दै जाने बताउनु भयो । नगरपालिकाको मुख्य उद्देश्य भनेकै नगरलाई सफा र स्वच्छ बनाउने भएकाले सबै नगरबासीहरुको दायित्व रहेको शाक्यले बताउनु भयो ।
शिविरमा वडा अध्यक्ष हिटलर शाक्य र वडा सदस्यहरूको सहभागिता रहेको थियो । शिविर संयोजक वडा सदस्य रामप्यारी श्रेष्ठले गर्नु भएको थियो ।
बनेपा नगरपालिकामा संसदीय बहस
बनेपा/बनेपा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरीक शाखाको आयोजनामा तथा क्लाशिक ग्रुपको प्राविधिक सहयोगमा माध्यमिक तह विद्यार्थीहरूका लागि संसदीय प्रणालीमा आधारित बहस प्रतियोगिता गरेको छ ।
कार्यक्रममा नगर भित्रका सामुदायीक विद्यालयका विद्यार्थीहरुले फोहोरमैला ब्यबस्थापन सम्बन्धी बहस गरेका थिए । संसदीय अभ्यास अनुसार माथिल्लो सदन, तल्लो सदन, सतापक्ष र प्रतिपक्षको भुमिकामा बहस गरेका थिए । सत्तापक्षका विद्यार्थीहरुले फोहोर मैलालाई वर्गीकरण गरी फोहोरको ब्यवस्थापन गर्नुपर्ने बताएका थिए भने विपक्षी विद्यार्थीहरुले फोहोरलाई मोहोरका रुपमा अगाडि बढाई नगरबासीहरुलाई चेतना फैलाउनु पर्ने बताएका थिए । विद्यार्थीहरुको बहसलाई नगर प्रमुख शान्तिरत्न शाक्यले विद्यार्थीहरुले उठाएका विषय एकदमै सकारात्मक भएकाले प्रत्येक विद्यालयमा फोहोर बर्गिकरण र ब्यवस्थापनका बारेमा जानकारी गराउनु पर्ने बताउनु भयो । नगरले आगामी साउन १ गते बाट कुहिने र नकुहिने फोहोरलाई बर्गिकरण गरी संकलन गर्ने र कुहिने फोहोरलाई घरमै ब्यबस्थान गर्नुपर्ने बताउनु भयो । प्रत्येक घरमा कौसीखेती गरी कुहिने फोहोरलाई प्राङ्गगारिक मल बनाउन तालिम प्रदान गरिने बताउनु भयो ।
कार्यक्रममा उप–प्रमुख विमला सापकोटा दाहालले बालबालिका भविष्यका कर्णधार भएकाले उनिहरुको क्षमता विकास गर्नुपर्ने बताउनु भयो । नगरपालिकाले बालबालिकाको क्षेत्रमा धेरै कामहरु गर्दै आएको र केहि महिना पछि बालमुक्त नगर घोषणको तयारी रहेको बताउनु भयो । बालबालिकामा गरेको लगानीको प्रतिफल पछि मात्रै देखिने भएकाले उनिहरुको क्षमता बृद्धि गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्य, महिला बालबालिका शाखाकी अधिकृत बिजया सुबेदी, निरीक्षक निा कार्की, बालकल्याण समितिका पूर्व अध्यक्ष रामकुमार मुल्मी, क्लासिक ग्रुपका सञ्जिव न्यौपाने लगायतले कार्यक्रमका बारेमा मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा चैतन्य माविका विद्यार्थीहरु प्रथम भएका थिए ।
जेष्ठ नागरिकहरुका लागी सचेतना कार्यक्रम
बनेपा/बनेपा नगरपालिकाको आयोजनामा जेष्ठ नागरिकहरुका लागी बनेका ऐन नियमहरुका बारेमा सचेतना कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रम पछि कृष्णप्रसाद दाहालको संयोजकमा २३ जनाको तदर्थ समिति गठन भएको छ । समितिलाई बधाई दिँदै नगर प्रमुख शान्तिरत्न शाक्यले जेष्ठ नागरीक हाम्रा अभिभावक भएकाले हामीले सम्मन गर्नुपर्ने बताउनु भयो । जेष्ठ नागरिकको सम्मान गर्नु नगरपालिकाको दायित्व भएकाले जेष्ठ नगारिकहरुले पाउने सेवा सुविधामा सहजीकरण गर्ने शाक्यले बताउनु भयो । समृद्ध बनेपा सुखी बनेपाली बनाउन जेष्ठ नागरिकको ठुलो भुमिका रहने शाक्यले बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका उप–प्रमुख विमला सापकोटाले सचेतना कार्यक्रममा नगरका १४ वटै वडामा रहेका जेष्ठ नागरिकहरुको सहभागिता रहेको जनाउनु भयो । नगरले हरेक वडामा जेष्ठ नागरिक समिती गठन गरेको र वडा स्तरमै जेष्ठ नागरिकहरुलाई सम्मान गरिने उप प्रमुख विमला सापकोटाले बताउनु भयो । जेष्ठ नागरीकलाई संविधानले हक अधिकार सुनिश्चित गरि दिएकोले सोही बमोजिम गर्न सम्पुर्ण जनप्रतिनिधीहरुलाई आग्रह गर्नु भएको थियो । सापकोटाले ज्येष्ठ नागरिक भनेका जिउँदा इतिहास हुन् तर हाम्रो समाज ज्येष्ठ नागरिकलाई समस्याका रूपमा लिन्छ, जबकी ज्येष्ठ नागरिक समस्या होइन, समस्या उनीहरूका परिवार बनेको बताउनु भयो । बढ्दो सहरीकरण, औद्योगीकरण, बसाइँसराई, अध्ययन तथा कामकाजमा व्यस्त जीवन आदिले परिवारका सबै व्यक्ति एकै थलोमा बस्ने वातावरण नहुने सहरीकरण, एकल परिवार, बसाइँसराई, स्वार्थी भावना, आधुनिक जीवनशैली, पारिवारिक बेवास्ता आदिले ज्येष्ठ नागरिक समस्या जटिल बन्दै गएको सापकोटाले बताउनु भयो ।
अध्ययन तथा रोजगारका लागि टाढाटाढा जानुपर्ने, खुला वातावरणको अभाव, आयको सीमितता, कानून अभाव आदिले परिवार एकलको रूपमा पनि विकास हुँदैछ, जसका कारण बूढाबूढीहरू सहाराविहीन जीवन निर्वाह गर्न बाध्य हुने सापकोटाको भनाई रहेको थियो । विकास क्रममा ज्येष्ठ नागरिकका लागि पछिल्लो जीवन अझ कष्टकर हुन गइरहेको र यसलाई ध्यानमा राखेर ज्येष्ठ नागरिकको जीवनलाई सहज र आनन्दमय बनाउने बारेमा नगरपालिकाको ध्यान गएको सापकोटाले बताउनु भयो । कार्यक्रममा जेष्ठ नागरिक महासघंका अध्यक्ष छत्रबहादुर प्रधान, जिल्ला अध्यक्ष सिद्धि बहादुर कर्मचार्य, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अधिकृत विजया सुवेदी निरिक्षक निर्मला कार्की लगायतले मन्तब्य राख्नु भएको थियो ।









