2026 April 25/ 11:24: 17am

    बनेपा/स्टार्ट अफ हब नेपालले आयोजना गरेको स्टार्ट अफ ब्याटलमा काभ्रेपलाञ्चोक जिल्लाका सरोज चौलागाई उत्कृष्ट घोषित भएका छन् । जिल्ला जिल्लामा छनौट भएका सहभागि उत्कृष्ट प्रतियोगीहरुको केन्द्रीय स्तरमा प्रतिस्पर्धा हुनेछ ।
    सहभागीहरुले आफुले गर्न खोजेको योजनालाई ५ मिनेट भित्र प्रस्तुत गरेका थिए । सोहि प्रस्तुतिका आधारमा १० जना प्रतिस्पर्धी मध्ये चौलागाई उत्कृष्ट भएका हुन् । उनले राष्ट्रिय स्तरको प्रतिस्पर्धामा भाग लिन पाउनेछन् । त्यस लगत्तै अमेरिकाको सिलिकन भ्यालीमा आयोजना हुने प्रतियोगितामा भाग लिने अवसर प्राप्त गर्नेछन् । उक्त प्रतिस्पर्धामा उत्कृष्ट हुने नेपालीले योजना संचालनका लागि नेपाली रकम साढे १२ करोड रुपैया प्राप्त गर्नेछन् । प्रतिस्पर्धीहरुले जिल्लामा शुरु गरेको परियोजनाले देशका विभिन्न शहर तथा ग्रामिण भेगमा तथा विश्वमा रहेका ब्यक्तिहरुलाई समेत जोड्ने बताएका थिए ।
    जिल्लामा रहेको आईटी ब्रिज नेपालको संयोजनमा भएको कार्यक्रममा विभिन्न संघ संस्थाको साझेदारीता रहेको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य चन्द्र लामाले युवाहरुमा नयाँ नयाँ सोचको विकास हुने गरे पनि कार्यान्वयनमा र निरन्तरतामा जटिलता रहने बताउनु भयो । सबै क्षेत्रको सहयोग र समन्वय रहेको अवस्थामा युवाहरुको सोचलाई कार्यान्वयन गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा स्टार्ट अफ हब नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले युवाहरुले नयाँ सोच राखेको अवस्थामा त्यसलाई कार्यान्वयनमा पनि चुनौती नभएको बताउनु भयो । कार्यक्रममा आईटी व्रिज नेपालका अध्यक्ष कमल तिमल्सिना, हेबि इक्युमेन्टका ताराबहाहादुर कुँवर, रोटरी क्लव अफ काभ्रेकी अध्यक्ष रुकमणी तिमल्सिना, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष रामचन्द्र थापा, काभ्रे उद्योग बाणिज्य संघका महासचिव रविन्द्र बैदार, आईटी विज्ञ नवराज भुर्तेल लगायतले युवाहरुको सोचलाई कार्यान्वयन गर्न जरुरी रहेको बताउनु भएको थियो ।