2026 April 25/ 09:42: 16am

बेथान्चोक/बैदेशिक रोजगारमा गएर फर्किएका युवाहरुको समुहले स्थानीय स्तरमै पर्यटन प्रर्वद्धन गरी आय आर्जन गर्ने उदेश्यले स्वरोजगार सहित होटल संचालनमा ल्याएका छन् । विशेषगरी जिल्लाको अग्लो स्थानमा रहेको बेथान्चोक नारायणस्थानमा जाने पर्यटकहरुको सहयोग पु¥याउने उदेश्यले बेथान्चोक गाउँपालिका वडा नम्वर ३ बाह्रविसे स्थित खोथार्पे हाईटमा नारायणस्थान अर्गानिक भिलेज रिसोर्ट स्थापना गरिएको प्रोपाईटर रामहरी घिमिरेले बताउनु भयो । 
    स्थानीय युवाहरु रामहरी घिमिरे, गोविन्द घिमिरे, रामकृष्ण तिमल्सिना, सुमन तिमल्सिना सहित चार जना युवाहरु मिलेर उक्त रिसोर्ट संचालनमा ल्याईएको हो । गाउँपालिका अध्यक्ष भगवान घिमिरेले उक्त रिसोर्टको उद्घाटन गर्नु भएको थियो । गाउँपालिकाको केन्द्र बजारबाट केहि पर खोथार्पे हाईटमा उक्त रिसोर्ट खोलिएको छ । रिसोर्टको उद्घाटन पछि गाउँपालिका अध्यक्ष भगवान अधिकारीले स्थानीय क्षेत्रमा आयआर्जन बृद्धी गरी पर्यटन बृद्धि गर्न गाउँपालिकाले आवश्यक योजना निर्माण गर्ने बताउनु भयो । बेथान्चोक नेपालमै नमुना बनाउने उदेश्यले गाउँपालिकाले कार्य गर्ने उहाँले बताउनु भएको थियो । आफ्नै जग्गामा निर्माण गरिएको ७० लाख मुल्य बराबरको २ तल्ले पक्कि भवनमा ५ वटा कोठा छन् । ६५ जना अट्ने हल निर्माण गरिएको छ । १ सय ६० जना सुत्न सकिने गरी टेन्टको ब्यवस्था गरिएको छ । बेथान्चोकका पर्यटकिय स्थानहरुको अवलोकनका साथै बेथान्चोक नारायणस्थानको दर्शन गर्न उक्त स्थानमा एक रात बास बसेर जाँदा सहज हुनेछ । होटलका लागि मात्रै युवाहरुले १० लाख खर्च गरेका छन् । 
    अर्गानिक स्वादमा खाना तथा अन्य सेवा उपलब्ध हुने संचालकहरुले जानकारी दिएका छन् । यस अघि सोहि स्थानमा दुईवटा होटल संचालनमा आईसकेका छन् भने नीजि र सामुदायिक गरी २ दर्जन भन्दा धेरै होम स्टे संचालनमा आएका छन् ।