2026 April 25/ 09:42: 27am

धुलिखेल/सारथी नेपाल काभ्रेले जिल्लामा गरेका काम सार्वजनिक गरेको छ । धुलिखेलमा परियोजना समापन कार्यक्रमको अवसर पारेर सारथी नेपालले उपलब्धि सार्वजनिक गरेको हो । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दे गौतमले नवनिर्वाचित युवा जनप्रतिनिधिहरु ठुलो परिक्षामा सामेल भएको बताएका छन् । हिजो नेताहरुले केहि गरेनन भनेर गाली गर्ने युवाहरु आज काम गर्ने ठाउँमा पुगेको भन्दै गौतमले उनीहरुको कामले राजनीतक भविष्य निर्धारण गर्ने समेत बताए । धुलिखेलमा सामुदायिक सारथी नेपालले आयोजना गरेको परियोजना समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनमा धेरै युवा निर्वाचित भएकाले यो परिक्षा उत्तिर्ण गर्न नसके राजनीतिक जीवन अन्धकारमय हुने बताएका हुन् । समन्वय प्रमुख गौतमले राजनीतिक दल सुध्रिनु आवश्यक रहेको पनि बताएका छन । राजनीतिक दलले इमान्दारिता पुर्वक काम नगरे जनताको अगाडी उठबस गर्नुपर्ने दिन आउने उनको भनाई थियो । काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङको उदाहरण दिँदै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतमले उनीहरुको विजय नो भोट भएको बताए । 
कार्यक्रममा पनौती नगरपालिका उप–प्रमुख गिता बञ्जारा, पाँचखाल नगरपालिका उप–प्रमुख सुर्यमाया दनुवार र रोशी गाउँपालिकाका उप–प्रमुख मिम बहादुर वाइवाले सहकार्यका लागि संस्थालाई धन्यवाद दिएका छन् । 
कार्यक्रममा सामुदायिक सारथी नेपालका कार्यक्रम व्यवस्थापक अनिल खनालले हालसम्मका उपलब्धि बारे जानकारी गराउनु भएको थियो । सामुदायिक सारथी नेपालले सुशासन प्रवद्र्धनका लागि नीति निर्माण, क्षमता अभिवृद्धि, जनचेतना जनाउने कार्यमा स्थानीय सरकारलाई सहयोग गर्दै आएको थियो । पनौती नगरपालिकाले सार्वजनिक सडकमा परेको जग्गाको लगत कट्टा सम्बन्धी कार्यविधि पारित गरेको, गुनासो सुनुवाई कार्यविधि निर्माण गरिएको, रोशी गाउँपालिकाले सुशासन सम्बन्धी कार्यविधि पारित गरेको, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, सार्वजनिक परिक्षण पास हुने क्रममा रहेको उपलब्धीका रुपमा उल्लेख गरिएको छ । पाँचखाल नगरपालिका मदिरा व्यवस्थापन सुशासन नीति र कृषि नीतिको मस्यौदा तयार गरि हस्तान्तरण गरेको, पनौती नगरपालिका वडा नम्बर १ बेरुजुमुक्त घोषणा गरिएको कार्यक्रम व्यवस्थापक खनालले जानकारी दिए । 
कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर १ का स्थानीयसभाका निवर्तमान संयोजक तुलप्रसाद सापकोटाले लक्षित वर्गलाई दिइने छात्रवृक्ति सम्बन्धित व्यक्ति तथा परिवारसम्म पुर्याउन, बन्यजन्तुले बालीनालीमा पुर्याएको क्षतिको क्षतिपुर्ति दिलाउन महत्वपुर्ण भुमिका खेलेको बताए । यस्तै जवाफदेही निगरानी समुह धुलिखेलकी संयोजक सुविना मानन्धर र पाँचखाल कोषाध्यक्ष मन्दिरा लुइटेलले विकास निर्माणका काममा हुने अनियमितता रोक्न प्रभावकारी काम गरेको बताए । कार्यक्रममा सामुदायिक साथी नेपाल काभ्रे अध्यक्ष कृष्णप्यारी नकर्मीले सबैको साथले मानवअधिकार रक्षा र सुशासन प्रवद्र्धनमा महत्वपुर्ण काम गरेको बताइन् । कार्यक्रम सन्चालन जिल्ला कार्यक्रम संयोजक भेषराज दनुवारले गरेका थिए ।