पनौती/पनौती नगरपालिका वडा नम्बर ४ ले वडावासीको सुझाव संकलन गरेको छ । आर्थिक वर्ष २०७९÷८० को लागि छनौट हुने योजना तथा कार्यक्रमका लागि सर्वदलिय र सर्वपक्षिय सरोकारवालाहरुको राय सुझाव संकलन गरिएको हो । वडा कार्यालयले यसअघि नै लिखित रुपमा सुझाव दिन तथा भेलामा सहभागि हुन आग्रह गर्दै पत्र पठाएको थियो । कार्यक्रममा सहभागि वडावासीले सुशासन, पारदर्शिता र दिगो विकासमा जोड दिन नेतृत्वलाई भनेका छन् । नयाँ जनप्रतिनिधि आएसँगै वडामा केहि राम्रो संकेत देखिएको भन्दै उनीहरुले आफ्नो वडा समृद्ध बनाउने अभियानमा सँगै हातेमालो गर्ने प्रतिवद्धता समेत जनाएका छन् । कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका नेता दिपक थापाले भुमाफियाबाट वडालाई जोगाउनुपर्ने बताउनुभयो । यस्तै माओवादी केन्द्रकी नेतृ शुशिला श्रेष्ठले कुकुरले बालीनालीमा क्षति पुर्याएकाले उचित व्यवस्थापनका लागि अनुरोध गरेकी छिन् । नेपाली कांग्रेसका वडा सभापति महेश थापाले वडामा सक्षम नेतृत्व आएको भन्दै राम्रा काममा आफ्नो साथ रहने प्रतिवद्धता जनाएका छन् । सहकारी अभियान्ता शिवजी सापकोटाले पारदर्शिता, जवाफदेहीता र सुशासन कायम राख्न जोड दिनुभयो । भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको योजना शाखा प्रमुख उप–सचिव रामकुमार सापकोटाले सहज तथा प्रविधिमैत्री सेवा प्रवाह सुरु गर्नुपर्ने बताउनुभयो । उहाँले जेष्ठ नागरिकलाई घरदैलो सेवा, महत्वपूर्ण क्षेत्रमा फ्रि–वाइफाइको व्यवस्था, सडक बक्ति, होम स्टेको अवधारणा, धर्म संरक्षणको संरक्षणका लागि गुरु योजना बनाउनुपर्ने बताउनुभयो ।
वडा अध्यक्ष दिपक दाहालले वडावासीले दिएको सुझाव नै आफ्नो मार्गदर्शन र वडाको समृद्धिको आधार भएको बताउनुभयो । प्राप्त सुझावबाट प्राथमिकताक्रम निर्धारण गरेर दस्ताबेज बनाउने उनले बताउनुभयो । उनले सधैं जनताको सेवामा समर्पित हुने प्रण समेत गरेका छन् । एक रुपैयँको मात्रै पनि लोभ गरेर वडाअध्यक्षले गलत ठाउँमा हस्ताक्षर गर्छकी भन्ने चिन्त नलिन पनि वडा अध्यक्ष दाहालले वडावासीलाई विश्वास दिलाउनु भयो । आफु किसान पनि भएकाले कुटो कोदालोमा रमाउने बानी रहेको उनको भनाई थियो । यस्तै उपप्रमुख गीता बञ्जाराले जनताबाट प्राप्त सुझाव क्रमशः कार्यान्वयन गर्दै जाने बताइन् । नगरप्रमुख रामशरण भण्डारीले प्राथमिकताका आधारमा योजना बनाउने बताएका छन् । कार्यक्रममा पूर्व वडा अध्यक्ष बुद्धसिं थापा, स्थानीय रमेश पौडेल, रामकृष्ण बञ्जारा, वुद्धकुमार श्रेष्ठ, राजन तामाङ, सरिता राई, अक्कल थापा लगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रम संचालन वडा सचिव राजकुमार श्रेष्ठले गर्नुभएको थियो ।









