बनेपा/जिल्लाको प्रतिष्ठीत ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले कोभिडका कारण रोकिएको रोड रेस प्रतियोगिता शनिबार सम्पन्न भएको छ । विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको रोड रेस प्रतियोगितामा सहभागिहरुले प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले आयोजना गएिको कार्यक्रमबाट उत्प्रेरणा मिलेको बताएका थिए ।
बनेपाको नाला दोवाटोबाट शुरु भएको प्रतियोगितामा छात्राहरुले तीन किलोमिटर रेस गरेका थिए । बनेपाको नालादोबाटो हुँदै चण्डेश्वरीसम्म पुगेर पुनः ज्ञानकुञ्ज विद्यालयमा आई समापन भएको थियो । छात्रा तर्फ जेसीज मावि भक्तपुरकी रिस्तिना सितिखु प्रथम भएकी छिन् । विद्या सागर मावि बनेपाकी ओसिनी क्षेत्री दोश्रो र ज्ञानोदय माविका सुस्मिता तामाङ तेश्रो भएका छन् । ५० जना छात्राहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । बनेपामा नगर प्रमुख शान्तिरत्न शाक्यले प्रतियोगिताको उद्घाटन गरेका थिए भने स्वागत अध्यक्ष सुरकृष्ण बैद्यले गरेका थिए । विजयीहरुलाई विद्यालयमा आयोजित कार्यक्रममा सहभागी अतिथीहरुले पुरस्कार वितरण गरेका थिए ।
पनौतीबाट शुरु भएको छात्रहरुको रेस प्रतियोगिता ७.५ किलोमिटरको थियो । पनौती सुब्बागाउँ श्रीखण्डपुर चारदोवाटो नालादोबाटो हुँदै विद्यालयमा पुगेर समापन भएको थियो । रेसको पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले उद्घाटन गर्नु भएको थियो । छात्रतर्फ बागेश्वरी मावीका चेतन शाही प्रथम भएका छन् । आजाद मावि पाँचखालका प्रभाकर श्रेष्ठ दोश्रो र सेतिदेवी मावि धुलिखेलका रुपेश बजगाई तेश्रो भएका छन् । ६० जना छात्रहरु प्रतियोगितामा सहभागि भएका थिए । हुनेछ । विजयी विद्यार्थीहरुलाई छात्र र छात्रा तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरेका प्रबन्ध निर्देशक प्रताप बैद्यले जानकारी दिनुभयो । एसईई दिएर बसेका विद्यार्थीहरुलाई खेलकूद मार्फत समाज रुपान्तरणको नेतृत्वदायी भूमिका निर्वाह गर्न तथा कुलतबाट जोगाउन रोडरेसले महत्वपूर्ण सहयोग पुगेको अध्यक्ष सुरकृष्ण बैद्यले बताउनु भयो । ‘विद्यार्थीहरु बीच प्रतिस्पर्धा गराई जुनसुकै क्षेत्रमा कुशल नेतृत्व स्थापित गर्नुको प्रमुख उद्देश्य छ’–संचालक अध्यक्ष सुरकृष्ण बैद्यले भन्नुभयो–‘कडा अनुशासनमा विद्यालयको कक्षा १० सम्मको अध्ययन सकेका विद्यार्थीहरु फ्रि भए लगत्तै गलत बाटोमा जान सक्ने सम्भावनालाई रोक्न यो रेस महत्वपूर्ण रह्यो ।’ तीन वर्ष अघि ज्ञानकुञ्जले पहिलो रेस आयोजना गरेको थियो । लगातार कोभिडका कारण दुई वर्ष रोकिएको रेस तेश्रो वर्षमा दोश्रो पटक आयोजना गरिएको हो ।
विद्यालयले रेसका लागि खुल्ला आमन्त्रण गरेको थियो । संचालक आत्मराम थापाले विद्यार्थीहरुलाई अन्तर सम्बन्ध गराउँदै स्वस्थ प्रतिस्पर्धा मार्फत सफल जीवनको लागि स्वास्थ्य, स्वास्थ्यका लागि खेलकूद भन्ने अभियानमा विद्यालयले सहयोग गरेको बताउनु भयो । शिक्षा विद्यार्थीको लागि, विद्यार्थी राष्ट्रको लागि भन्ने अभिप्रायबाट किन्डर गार्टेनदेखि स्नातकोत्तर तहसम्म उत्कृष्ट शैक्षिक गतिविधिलाई ज्ञानकुञ्जले निरन्तरता दिईरहेको छ । बनेपामा २० वर्ष देखि ज्ञानकुञ्जले ब्यवसायीक शिक्षा प्रदान गर्दै आएको छ ।









