नेपाल सरकारले आईतबार थप गरेको विदाको सरकारी स्तरबाटै अवज्ञा शुरु भएको छ । विशेषगरी स्थानीय सरकारले संघ सरकारको निर्णय अस्विकार गर्दै विद्यालय खुल्ने निर्णय गरेका हुन् । जिल्लामा बनेपा, मण्डन, खानिखोला, चौरी देउराली गाउँपालिकाले निर्णय गरेर विद्यालय बन्द नहुने निर्णय गरेका छन् भने महाभारत लगायतका पालिकाहरुले निर्णय नगरी विदाको अवज्ञा गरेका छन् । स्थानीय तहबाट विदाको अवज्ञा शुरु भए पछि सरकारले आईतबार दिन शुरु गरेको विदा असार १ गतेबाट फिर्ता भएको छ ।
‘दुई दिनको विदाले बालबालिकाहरुलाई असर पुग्ने देखेर हामीले अलग्गै निर्णय गरेका हौं’–चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले भन्नुभयो–‘जेठ १ गते देखि शुरु भएको विदा गाउँपालिकामा सञ्चालित सरकारी, गैरसरकारी, बैक तथा वित्तिय संस्थाहरुको हकमा लागु हुँदैन ।’ यि कार्यालयहरुबाट प्रदान गर्ने सेवा नियमित संचालन हुनेछ । जेठ १२ गते जारी भएको सुचना अनुसार कार्यान्वयनमा आई सकेको छ । चौरीदेउराली लगायतका अधिकांश पालिकाहरुले यस्तै निर्णय गरेर विद्यालय र अन्य कार्यालय संचालन गरेका छन् ।
निजी क्षेत्रका विद्यालयहरुले भने सरकारी निर्णयको शुरु देखि नै अवज्ञा गरिरहेका थिए । एक हप्ता पनि नटिक्ने हचुवाका भरमा गरिएको निर्णयको सर्वत्र विरोध र अवज्ञा शुरु भएको छ ।









