बनेपा/जिल्लाको प्रतिष्ठीत ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले कोभिडका कारण रोकिएको रोड रेस प्रतियोगिता पुनःआयोजना गर्ने तयारी गरेको छ । आउँदो जेठ २८ गते शनिबार विहान आयोजना हुने उक्त प्रतियोगितामा ज्ञानकुञ्ज शैक्षिक प्रतिस्ठान बाहेक अन्य विद्यालयका अन्य विद्यार्थीहरुले समेत सहभागिता जनाउने छन् ।
बनेपाको नाला दोवाटोबाट शुरु हुने प्रतियोगितामा छात्राहरु सहभागि हुनेछन् । छात्राहरुले तीन किलोमिटर रेस गर्नेछन् । बनेपाको नालादोवाटो हुँदै चण्डेश्वरीसम्म पुगेर पुनः ज्ञानकुञ्ज विद्यालयमा आई समापन हुनेछ । पनौतीबाट शुरु हुने छात्रहरुको रेस प्रतियोगिता ७.५ किलोमिटरको हुनेछ । पनौती सुब्बागाउँ श्रीखण्डपुर चारदोवाटो नालादोबाटो हुँदै विद्यालयमा पुगेर समापन हुनेछ । विजयी विद्यार्थीहरुलाई छात्र र छात्रा तर्फ प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतिस्ठानले पुरस्कारका लागि ६ जना विद्यार्थीलाई ७० हजार रुपैया खर्च गर्ने प्रवन्ध निर्देशक प्रताप बैद्यले जानकारी दिनु भयो ।
एसईई दिएर बसेका विद्यार्थीहरुलाई खेलुकद मार्फत समाज रुपान्तरणको नेतृत्वदायी भूमिका निर्वाह गर्न तथा कुलतबाट जोगाउन रोडरेसले महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरु यो रेसमा भाग लिनेछन् । ‘विद्यार्थीहरु बीच प्रतिस्पर्धा गराई जुनसुकै क्षेत्रमा कुशल नेतृत्व स्थापित गर्नुको प्रमुख उदेश्य छ’–संचालक अध्यक्ष सुरकृष्ण बैद्यले भन्नुभयो–‘कडा अनुशासनमा विद्यालयको कक्षा १० सम्मको अध्ययन सकेका विद्यार्थीहरु फ्रि भए लगत्तै गलत बाटोमा जान सक्ने सम्भावनालाई रोक्न यो रेस महत्वपूर्ण छ ।’ तीन वर्ष अघि ज्ञानकुञ्जले पहिलो रेस आयोजना गरेको थियो । लगातार कोभिडका कारण दुई वर्ष रोकिएको रेस तेश्रो वर्षमा दोश्रो पटक आयोजना गरिएको हो ।
विद्यालयले रेसका लागि खुल्ला आमन्त्रण गरेको छ । संचालक आत्मराम थापाले विद्यार्थीहरुलाई अन्तर सम्वन्ध गराउँदै स्वस्थ प्रतिस्पर्धा मार्फत सफल जीवनको लागि स्वास्थ्य, स्वास्थ्यका लागि खेलकुद भन्ने अभियानमा विद्यालयले सहयोग गरेको बताउनु भयो । शिक्षा विद्यार्थीको लागि, विद्यार्थी राष्ट्रको लागि भन्ने अभिप्रायबाट किन्डर गार्टेनदेखि स्नातकोत्तर तहसम्म उत्कृष्ट शैक्षिक गतिविधिलाई ज्ञानकुञ्जले निरन्तरता दिईरहेको छ । बनेपामा २० वर्ष देखि ज्ञानकुञ्जले ब्यवसायीक शिक्षा प्रदान गर्दै आएको छ । ज्ञानकुञ्ज रोड रेसका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रतिस्ठानका अध्यक्ष सुरकृष्ण बैद्य, प्रवन्ध निर्देशक प्रताप बैद्य, संचालक आत्मराम थापा, सहायक क्याम्पस प्रमुख नवराज चौलागाई, प्रशासनका अर्जुन खड्का लगायतको सहभागिता रहेको थियो ।









