2026 April 25/ 08:04: 59am

‘काभ्रेले दैनिक ३ लाख लिटर दुध उपत्यका निर्यात गर्छ’
    धुलिखेल/‘दीर्घ जीवन गुणस्तरीय दुध तथा दुग्ध पदार्थको सेवन’ भन्ने नाराका साथ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेपलाञ्चोकले नेपालले मनाउन शुरु गरेको विश्व दुध दिवसको अवसर पारी गुणस्तरीय दुध उत्पादन तथा दुध उत्पादन बृद्धी गर्न आवश्यक ब्यवसायीक पशुपालनका लागि सरकारले प्रदान गरेको सहुलियत कर्जा र बीमामा कृषकको पहुँच बढाउन सरोकारवाला निकायसँग अन्र्तक्रिया गरेको छ ।
    ‘दुध उत्पादनका लागि लागत कम गरी उत्पादन बृद्धी गर्न ब्यवसायीक फार्मलाई प्राथमिकतामा राख्नु जरुरी छ’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘एकातिर दुध उत्पादनमा बृद्धी गर्नु जरुरी छ भने अर्काे तिर उत्पादित दुधलाई गुणस्तरीय बनाउँदै उपभोक्ताहरुलाई सहज बनाउनु जरुरी छ । दुबै अभियानमा तीन तहका सरकारको सहकार्य जरुरी छ ।’ कृषकहरुले बिमा कम्पनीले विमामा आलटाल गरेको, बैकहरुले सहुलियत कर्जामा हैरानी दिएको तथा भुक्तानीका बेला कृषकहरुले भोग्दै आएका समस्याहरुको समाधानका लागि सरोकारवाला निकायहरुले चासो नदिएको गुनासो गरेका थिए । सरकारले हरेक वर्ष कृषकहरुका लागि दिदै आएको सहुलियत कर्जा र बीमामा सम्वन्धित कृषकहरु लाभान्वित हुन नसकेको गुनासो गरेका थिए । सहभागिहरु पशु चिकित्कस मणीप्रसाद सापकोटाले सरकारले तोकेको दररेटमा खरिद गरिएका गाई भैसीको बीमामा कम्पनीहरुले गर्न नमानेको बताउनु भयो । ‘९० हजारमा किनिएको गाईको बीमा ७० हजार रुपैया भन्दा धेरैको गर्न कम्पनी तयार भएनन’–सापकोटाले भन्नुभयो–‘१ लाख ५० हजारमा किनेको भैसीको बीमा ९० हजार रुपैयाको भन्दा हुँदैन ।’ कृषक जसोदा सापकोटाले बीमा गरिएका तीनवटा गाई लगातार मर्दा समेत बीमा कम्पनीले डेड वर्षसम्म भुक्तानी नगरेको गुनासो गर्नु भयो ।
    अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले राज्यले दुध, मासु र अण्डामा आत्मनिर्भर हुन गरिरहेको लगानीलाई अझै ब्यवस्थित गर्न र स्थानीय स्तरमा भएका कार्यक्रमहरुलाई अझै प्रभावकारी बनाउन सहकार्य र समन्वय आवश्यक रहेको बताउनु भयो । मण्डन देउपुर नगरपालिका उपप्रमुख विष्णुमणी सापकोटाले स्थानीय सरकारले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समय भएकाले कृषि र पशुपालनमा जोड दिने बताउनु भयो । प्राथमिकतामा राखेर बजेट र नीति तथा कार्यक्रम बनाउन लागिएको उपप्रमुख नेपालले बताउनु भयो । जिल्ला समन्वय अधिकारी भिमप्रसाद भट्टराईले कृषि र पशुपालन क्षेत्र प्राथमिकतामा भए पनि केहि समय पछि पलायन हुने अवस्था सिर्जना हुँदै गएकाले निरन्तर पेशामा टिकाईराख्ने खालका कार्यक्रमबाट कृषकहरुलाई सहयोग पु¥याउनु पर्ने उहाँले बताउनु भयो । भेटेरिनरी अस्पताल काभ्रेका प्रमुख राजकुमार हुमागाईले काभ्रेपलाञ्चोक जिल्ला दुध र अण्डामा आत्मनिर्भर भईसकेकाले आगामी दिनमा मासुमा आत्मनिर्भर हुने गरी कार्यक्रम गरिएको बताउनु भयो ।
    जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण बडालले काभ्रेपलाञ्चोक जिल्लाले आफुलाई आत्मनिर्भर बनाउँदै दैनिक ३ लाख लिटर दुध उपत्यकामा निर्यात गरिरहेको बताउनु भयो । उपत्यकामा आवश्यक पर्ने ७० प्रतिशत दुध काभ्रेपलाञ्चोक जिल्लाले उपलब्ध गराउँदै आएको बताउँदै बडालले जिल्लामा दुधबाट दुग्धजन्य पदार्थको उत्पादन शुरु गरेको बताउनु भयो । अगुवा कृषक नेता दिपकप्रसाद पौडेलले किसानलाई सहज हुने खालका कार्यक्रम ल्याउन अनुरोध गर्नु भयो । कार्यक्रममा वडा अध्यक्षहरु, बीमा कम्पनीका प्रतिनिधिहरु, बैकका प्रतिनिधिहरु, कृषक तथा विभिन्न पालिकामा कार्यरत पशुपक्षी शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम पनौती नगरपालिकाका लिलानाथ सापकोटाले सहजिकरण गर्नु भएको थियो ।