2026 April 25/ 08:04: 59am

    तेमाल/तेमालका जनतामा उत्साह छर्दै नेकपा एमालेका उम्मेद्वारहरुले पहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेद्वार एमाले काभ्रेका प्रभावशाली नेता इन्द्र तामाङ र युवा तथा विद्यार्थी आन्दोलनको संघर्षबाट उदाएका उपाध्यक्षका उम्मेद्वार सम्तेन लामाको टोलीले गत आइतवारबाट थालेको पहिलो चरणको घरदैलो कार्यक्रम आज समापन गरेको हो ।
    ‘हामी वडा नं. १ देखि ९ नं. वडासम्मका जनताको घरदैलोमा पुग्यौं,गाउँ विकासका लागि हाम्रा योजना बतायौं ।’–अध्यक्षका उम्मेद्वार तामाङले भन्नुभयो–‘हामी हिजो पनि जनतासँगै थियौं,आज पनि छौं र भोलि पनि हुनेछौं भन्ने कुरा जनताले बुझेका छन्,त्यसैले पनि तेमालका दाजुभाई तथा दिदीबहिनीहरु हाम्रो प्रतिवद्धताप्रति सकारात्मक हुनुहुन्छ ।’ 
    जनतामा निकै उत्साह देखिएको जनाउँदै अध्यक्षका उम्मेद्वार तामाङले नेकपा एमालेले तेमालमा विजयीको झण्डा फहराउने बताउनुभयो । घरदैलो अभियानको क्रममा अध्यक्षका उम्मेद्वार तामाङले आफूलाई तेमालको साझा उम्मेद्वारको रुपमा प्रश्तुत गर्नुभएको थियो । 
उहाँको आह्वान छ–‘म यो माटोको छोरा हुँ,तपाईहरुको सेवा गर्न सक्षम छु,त्यो पार्टी,ऊ पार्टी भनेर हेर्नुहुन्न भन्ने लाग्छ,सबैको सल्लाह सुझाव अनुसार सबैको भावनाको कदर गरी  तेमालको विकास गर्छु,त्यसैले हामो सुर्य ध्वजावाहक उम्मेद्वारहरुलाई जिताउन गर्न म अनुरोध गर्दछु ।’
उपाध्यक्षका उम्मेद्वार सम्तेन लामाले युवा र महिलाको भावना नजिकबाट बुझ्ने र त्यसको प्रतिनिधित्व गर्दै समग्र तेमालको विकासमा नेतृत्वदायी भुमिका खेल्ने प्रतिवद्धता जनाएकोमा तेमालका स्थानीय जनता हर्षित देखिएको जनाइएको छ ।