बनेपा/नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) काभ्रेले विभिन्न कार्यक्रम गरि मे दिवस मनाएको छ । बनेपामा आयोजित अन्तक्र्रिया कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै उनले मजदुर आन्दोलनको इतिहासको बारेमा जानकारी गराएका थिए । उनले मजदरको राजनैतिक अधिकारको लडाई सकिएको पनि बताएका छन । संविधानमै हक, अधिकारको व्यवस्था गरिएकाले अब त्यलाई कार्यान्वयन तहमा लैजानु आवश्यक रहेको उनको भनाई छ । बनेपा नगरपालिकामा एमालेका उम्मेदवारले योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता अनिवार्य गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरेको भन्दै त्यसका लागि जिल्ला समन्वय प्रमुख केसीले धन्यवाद दिएका छन् । अन्य स्थानीय तहले पनि मजदुरलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिएका छन् । उनले राजनीतिक दलहरुलाई के के गर्यौ ? मजदुरका बारेमा के के प्रतिवद्धता छन भन्दै प्रश्न गर्न मजदुरलाई आग्रह गरेका छन् । उनले निर्वाचनमा कम्तीमा १० प्रतिशत मजदुरको प्रतिनिधित्व गराउन समेत माग गरेका छन् । कार्यक्रममा जिफन्ट केन्द्रिय शिक्षा विभाग प्रमुख एवं बागमती प्रदेश सचिवालय सदस्य कृष्ण रिमालले मे दिवस संघर्षबाट अधिकार प्राप्त गरेको दिन भएकाले उत्सवका रुपमा मनाउदै आएको बताए । नेकपा एमालेले मजदुरको पक्षमा काम गरेकोले यो निर्वाचनमा एमालेको पक्षमा उभिन मजदुरलाई उनको आग्रह छ । केहि असन्तुष्टि भए पार्टीभित्र नै राख्न भन्दै उनले तुष नराख्न आग्रह गरेका छन् । यस्तै जिफन्ट नेता एवं नेकपा एमाले काभ्रेका सदस्य तथा जिफन्ट सह–इन्चार्ज मोहन गजुरेलले जिफन्ट मजदुरको हक, अधिकारको पक्षमा लड्दै आएको सशक्त संगठन भएको बताए । कार्यक्रममा जिफन्ट नेता एवं एमालेका जिल्ला सदस्य तथा जिफन्ट इन्चार्ज विदुर खत्री, क्युपेकका इन्चार्ज बल बहादुर लो, जिफन्ट नेता लेखनाथ न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।









