2026 April 25/ 06:13: 08am

– ३२ महिलाको परिक्षण गर्दा दुईजनामा देखियो क्यान्सर
    धुलिखेल/धुलिखेल अस्पतालमा पहिलो पटक स्तनमा भएको क्यान्सर पत्ता लगाउन म्यामोग्राफीको प्रयोग शुरु गरिएको छ । पछिल्लो एक महिनामा म्यामोग्राफीको माध्यमबाट ३२ जना महिलाको स्तन परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्ये दुई जना महिलामा स्तन क्यान्सर देखिएको छ । 
    ‘सामान्य देखिएका महिलाहरुमा समेत स्तनमा क्यान्सर भईसकेको हुन सक्छ’– धुलिखेल अस्पतालमा कार्यरत स्त्रि रोग विशेषज्ञ डाक्टर सुनिला शाक्यले भन्नुभयो–‘सबै उमेर समुहका महिलाहरुले एक पटक स्तन परिक्षण गर्नु जरुरी छ ।’ ‘मानव स्तनको रोगब्याधी वा क्यान्सर छ कि भनेर कम भोल्टेजको ईनर्जी प्रयोग गरेर गरिने विशेष एक्सरेलाई मेडिकल भाषामा म्यामोग्राफी भनिन्छ । ‘यो प्रविधीले हातले छामेर नभेटिने अवस्थाका स्तनका स–साना गिर्खालाई पत्ता लगाउन मद्दत पुग्छ’–डा. शाक्यले भन्नुभयो–‘४० वर्ष पुगिसकेकी महिलाले २÷३ वर्षमा एक पटक म्यामोग्राफी गराउनु जरुरी छ ।’ केहि नभएका महिलाहरुले पनि ४० वर्ष कटिसकेपछि एक पटक म्यामोग्राफी गर्नु पर्ने डा. शाक्यले बताउनु भयो । नीजि स्वास्थ्य संस्थामा धेरै पैसा लिने गरेको भए पनि बीमा भएका ब्यक्तिहरुलाई धुलिखेल अस्पतालले निशुल्क सेवा दिएको छ भने बीमा नहुने महिलाहरुका लागि १ हजार ७ सय ५० रुपैया लिने गरेको छ । 
    ‘महिलाहरुले होलबडी चेक अपमा म्यामोग्राफी अनिवार्य गर्नु पर्छ’– रेडियोलोजिस्ट डा. रामचन्द्र पौडेलले भन्नुभयो–‘स्तन क्यान्सरबाट बच्न नियमित रुपमा आफैले हातैले छामेर स्तनको जाँच गर्ने तथा शंका लागेको अवस्थामा म्यामोग्राफी मार्फर्त पत्ता लगाउन सकिन्छ । समयमै उपचार गरेको खण्डमा स्तनको क्यान्सर शतप्रतिशत निको हुन्छ ।’ ‘स्तन क्यान्सर लागेको निश्चित भए पछि स्तन क्यान्सरको चरण, विरामीको अवस्था तथा अन्यत्र फैलिए नफैलिएको आधारमा शल्यक्रिया, रेडियोथेरापी, केमोथेरापी, हर्माेनथेरापी तथा विरामीलाई सहज हुने औषधी प्रदान गरिनेछ’–स्त्री रोग विशेषज्ञ प्रा. डा. सुमन ताम्राकारले भन्नुभयो–‘धुलिखेल अस्पतालले रोग लागिसके पछि उपचार गर्ने भन्दा पनि रोग लाग्नै नदिन सचेत गराउने उदेश्यले म्यामग्राफी सेवा शुरु गरिएको हो ।’ प्याथोलोजिस्ट डा. विनोद ढकालले रोग लाग्नै नदिने तर्फ सचेत गराउँदा गराउँदै रोग लागिसकेका ब्यक्तिहरुलाई सहजै उपचार गराउने र समयमै रोग पत्ता लगाउने अवस्थामा अस्पतालले सेवा शुरु गरेको बताउनु भयो । केहि महिना अघि धुलिखेल अस्पतालमै कार्यरत एक जना डाक्टरको स्तन क्यान्सरका कारण निधन भएको थियो । 
    पाठेघरको मुखको क्यान्सरको पुर्व अवस्था जानकारी पाउन सकिन्छ तर स्तन क्यान्सरका बारेमा पुर्व अवस्थाको जानकारी पाउन नसकिने डा. शाक्यले बताउनु भयो । ‘स्तन क्यान्सर भएको पहिलो अवस्था भए मात्रै उपचार सम्भव छ’–शाक्यले भन्नुभयो–‘क्यान्सर फैलिसकेको अवस्थामा उपचार सम्भव छैन । त्यसकारण महिलाहरुले अनिवार्य एक पटक स्तन परिक्षण गराउनु आवश्यक छ ।’ पछिल्लो समय नेपालमा स्तन र पाठेघरको क्यान्सर भएका महिलाहरुको संख्या धेरै छ । अस्पतालले आयोजना गरेको कार्यक्रममा नर्स सोना गौतमले स्तन क्यान्सर, स्तन क्यान्सर हुन सक्ने अवस्था, लक्षणहरु, आफै परिक्षण गर्ने तरिकाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा धुलिखेल अस्पतालले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन र महिलाहरुलाई अनिवार्य स्तन परिक्षण गराउन भईरहेको प्रयास र सहजताका बारेमा जानकारी गराईएको थियो । म्यामोग्राफी मेशिनका लागि धुलिखेल अस्पताल, कमला शाक्य फाउण्डेशन लगायतको सहयोग रहेको छ ।