२० वर्षमा ३३ सयको पुर्नस्थापना
बनेपा/स्पाईन इन्जरी संघ नेपालद्वारा संचालन गरिएको स्पाईनल इन्जरी पुर्नस्थापना केन्द्रले स्थापनाको २० औ बार्षिकोत्सव मनाएको छ । यो अवधीमा विभिन्न कारण स्पाईनलमा समस्या भएका ३ हजार ३ सय ब्यक्तिहरुलाई पुर्नस्थापना गरिएको अस्पतालले जानकारी गराएको छ । सडक दुर्घटनाका कारण स्पाईन इन्जरीको समस्या प्रतिदिन थपिदै गएको छ ।
‘दुर्घटनामा परी स्पाईनलमा समस्या भएका ३ हजार ३ सय विरामीले २० वर्षको अवधीमा पुर्नस्थापना हुने अवसर पाएका छन्’–अस्पतालका मेडिकल डाईरेक्टर डा. राजु ढकालले भन्नुभयो–‘२ सय ५० जनाले साढे ४ महिनाको सिपमुलक तालिम लिई स्वरोजगारको माध्यमबाट आत्मनिर्भर भएका छन् ।’ डा. राजु ढकाल आफै स्पाईनल समस्याका ब्यक्ति हुन् । नेपालमा ढकाल सहित अन्य दुई जनाले यहि विषयमा विद्याबारिधी गर्नु भएको छ । स्पाईनल इन्जरी नेपालमा एक मात्रै अस्पताल हो । जसले स्पाईनल समस्या भएका विरामीहरुको पुर्नस्थापनाका अलावा सिपमुलक तालिम प्रदान गर्दै आएको छ ।
काठमाडौंको जोरपाटीमा १० शैया, तीन जना विरामी र ७ जना कर्मचारीबाट शुरु भएको उक्त अस्पताल सन् २००८ बाट काभ्रेको भैसेपाटीमा २५ शैयाको अनुमति लिएर संचालनमा आएको थियो । पछि स्पतालले ५० शैयाको अनुमति लिएको भए पनि अहिले ६५ जना विरामीलाई नियमित उपचार दिईरहेको उक्त अस्पतालले शैया अभावकै कारण धेरै विरामीलाई सेवा दिन सकिरहेको छैन । १ सय शैयाका लागि प्रकृयामा रहेको अस्पतालका मेडिकल डाईरेक्टर डा. राजु ढकालले बताउनु भयो । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले ७ वटै प्रदेशमा स्पाईनल इन्जरी पुर्नस्थापना केन्द्र खोल्ने तयारी गरेको बताउनु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ब्यवस्थापन महाशाखा निर्देशक डा. रुद्रप्रसाद मरासैनीले पुर्नस्थापना केन्द्रसँगै सिपमुलक तालिम प्रदान गर्ने गरी गृहकार्य भईरहेको बताउनु भयो । मरासैनीले स्पाईनलको समस्या हुनै नदिन, समस्या भए समाधान तथा पुर्नस्थापना र उपचारका लागि राष्ट्रिय मापदण्ड बनाउने गरी तयारी गरिएको बताउनु भयो ।
अस्पतालका संस्थापक अध्यक्ष कनकमणी दिक्षित मनाङ ट्रेकिङ्ग गएको बखत भिरबाट लडेर उद्धार सँगै उपचार भए पछि उनकै परिकल्पनामा स्पाईनल इन्जरी अस्पताल शुरुवात भएको थियो । नेपालमा ट्रमा सेन्टरको स्थापना भए पनि पुर्नस्थापना केन्द्र संचालनमा आउन सकेको छैन । सरकारले स्पाईनल इन्जरी भएका विरामीहरुको पुर्नस्थापनाका लागि प्राथमिकतामा राख्नु पर्ने संस्थापक अध्यक्ष दिक्षितले बताउनु भयो । विभिन्न दातृ संस्था र सरकारको सहयोगबाट अस्पतालले धेरै भन्दा धेरै विरामीहरुलाई सेवा उपलब्ध गराउन सहज भएको बताउनु भयो । अस्पतालका सदस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले अस्पताल भगवानको रुपमा प्रस्तुत भएको बताउँदै स्पाईनल समस्या भएर ह्विलचियर प्रयोग गर्नु पर्ने अवस्थाका विरामीहरुलाई मनोबल उच्च बनाउँदै साहसिक कार्यमा लाग्न र आत्मनिर्भर उन्मुख सिप सिक्न अनुरोध गर्नु भयो ।
जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, संस्थाका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, सचिव कुमुदिनी श्रेष्ठ, निर्देशक इशा थापा, सेवाग्रही श्रीकृष्ण भण्डारी लगायतले स्पाईनल इन्जरी पुर्नस्थापना केन्द्रले विरामीहरुको सेवामा सहज भएको बताउनु भयो । सहभागिहरुले दुर्घटना न्यूनिकरण गर्न, अपाङ्गमैत्री संरचना निर्माण गर्न तथा स्पाईनल समस्या आउनै नदिन सचेतनामुलक कार्यक्रम तीन तहकै सरकारले संचालन गर्नु पर्नेमा जोड दिए ।









