2026 April 25/ 07:37: 43am

    धुलिखेल/जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधिहरुलाई निर्वाचन आचार संहिता र निर्वाचनको तयारीका बारेमा अन्र्तक्रिया गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जिल्लाका १३ वटा पालिकामा हुने निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृत र आवश्यक तयारीका बारेमा जानकारी गराउनु भएको थियो । 
    जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, भय रहित वातावरणमा सम्पन्न गर्न स्थानीय राजनीतिक दल जिम्मेवार हुनु पर्ने बताउनु भयो । काभ्रेपलाञ्चोक जिल्लामा ३ लाख ३ हजार ५ सय ६० मतदाता छन् । जसमा महिला १ लाख ४९ हजार ३ सय ७५, पुरुष १ लाख ५४ हजार १ सय ८३ र अन्य २ जना छन् । निर्वाचनका लागि दर्ता भएका ३० वटा दल छन् । राष्ट्रिय मान्यता प्राप्त दलको संख्या ६ वटा छन् । २०७४ को स्थानीय तहमा २ लाख ७२ हजार २ सय ९२ मतदाता थिए । जिल्लामा १ सय ८९ वटा मतदान स्थलमा ३ सय ८१ वटा मतदान केन्द्र रहेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ३ सय ५० वटा मतदान केन्द्र थिए । मतदाता थपिएसँगै ३१ वटा मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन अधिकारी उमेश राईले बताउनु भयो । 
    निर्वाचनको आवश्यक तयारी गरी सुरक्षाको प्रवन्ध मिलाईएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनु भयो । ‘जिल्लामा अति संवेदनशिल, संवेदनशिल र सामान्य अवस्थाको पहिचान गरेको छ, म्यादी प्रहरीको तालिम विभिन्न क्षेत्रमा भईरहेको छ’–हुमकला पाण्डेले भन्नुभयो–‘मतदाहरुलाई ढुक्क भएर मतदान गर्ने वातावरण मिलाएका छौं । जिल्लाका सबै पालिका र मतदान स्थलमा सुरक्षाको प्रवन्ध मिलाईएको छ ।’ नियमित गस्ति र आकस्मिक गस्तिका लागि सबै सुरक्षा निकायको समन्वयमा टिम बनाईएको उहाँले बताउनु भयो । मतदातासँगै मतदान स्थल, मतदानमा खटिएका कर्मचारी तथा मतपेटिकाहरुको सुरक्षासँगै मतगणनासम्मको कार्ययोजना बनाई कार्यान्वयन शुरु गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनु भयो । 
    निर्वाचन अधिकारी उमेश राईले नयाँ थप भएका, नाम शंशोधन भएका, ठेगाना सरेका र हराएको र नस्ट भएको भनि निवेदन दिएका मतदाताहरुको मात्रै नयाँ परिचयपत्र प्राप्त हुने बताउनु भयो । निर्वाचन अधिकृतको कार्यालय बैशाख ८ स्थापना गरी बैशाख ११ गते देखि मनोनयका कार्यक्रम शुरु हुने बताउनु भयो । प्रमुख जिल्ला न्यायाधिश मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले उम्मेदवारका लागि तोकिएको योग्यता पुरा गरेर उम्मेदवारी दर्ता गर्नु राजनीतिक दलहरुलाई आब्हान गर्नु भयो । मनोनयनका लागि तोकिएका आवश्यक कागजात, उम्मेदवारले स्वघोषणा पत्र गर्नु पर्ने विषय र आचार संहिता पालनाका लागि तीन तहकै सरकार, राजनीतिक दल तथा भातृ संगठन, मन्त्री, कर्मचारी, संघ संस्था, संचार तथा निजी क्षेत्र समेतलाई प्रमुख मुख्य निर्वाचन अधिकृत भट्टराईले पालना गर्न अनुरोध गर्नु भयो । 
    संचारमाध्यममा राजनीतिक दल र उम्मेदवारले प्रयोग गर्ने विज्ञापनका ढाँचाका बारेमा पनि जानकारी गराईएको छ । सवारी साधनको प्रयोग, आमसभा तथा जुलुस लगायतका विषयमा पनि आयोगले दलहरुको ध्यानाकर्षण गराएको छ । अन्र्तक्रिया कार्यक्रममा समन्वय समिति प्रमुख उद्धव प्रमुख, प्रमुख जिल्ला न्यायाधिश प्रमुख निर्वाचन अधिकृत मोहनराज भट्टराई, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।