हरसिद्धी जात्रा, तयारी सकियो
पनौती/धुलिखेल, दोलखा र पशुपतिमा हरसिद्धी जात्रा सकिए लगत्तै पनौतीमा चैत्र २८ गते देखि शुरु हुने भएको छ । १२ वर्षमा एक पटक लाग्ने उक्त जात्रा यसअघि ६० वर्षमा आयोजना गरिएको थियो । स्थानीय तहको समेत सहभागितामा यो पटक जात्रालाई थप ब्यवस्थित बनाउन लागिएको मुल ब्यवस्थापन समितिका संयोजक सुरेश सैजुले बताउनु भयो ।
हरसिद्धी जात्राका बारेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पनौतीमा जात्राको महत्व र यसको तयारीका बारेमा संयोजक सैजु, विभिन्न उप समितिका संयोजकहरु राजाराम कर्माचार्य, प्रेमबहादुर प्रधान, मोहन बस्नेत, लक्ष्मण मातन्क्षे, सुनिल स्याउला, तिर्थभक्त स्याउला लगायतले जानकारी गराउनु भएको थियो । जात्रा नियमित संचालन गर्ने उदेश्यले यसअघि १ हजार १ आजिवन सदस्यता शुल्क लिएको थियो भने सोहि शुल्कलाई २०७८ बनाईएको थियो । संस्थागत सदस्य ५०७८ कायम गरिएको छ । जात्रा संचालनका लागि अघिल्लो पटक ५ लाख खर्च भएको थियो भने यो पटक १६ लाख लाग्ने अनुमान गरिएको छ । वर्षेनी मुल्य बृद्धी हुँदा जात्रा ब्यवस्थापनमा कठिनाई हुँदै गए पछि स्थानीयहरुले आजिवन सदस्यता शुल्क बापत रकम संकलन गरी जात्रा ब्यवस्थापन गर्न लागेका हुन् ।
पनौतीमा २००६ सालमा संचालन भएको हरसिद्धी जात्रा ६० वर्ष संचालन हुन सकेन । स्थानीय स्व. विष्णुदास स्याउलाको अगुवाईमा २०६६ सालमा जात्रा संचालन भए सँगै यो वर्ष हरसिद्धी संचालन हुन लागेको हो । मकर मेलाकै वर्ष आयोजना हुने जात्रालाई ब्यवस्थित गर्न नगरपालिकाले १५ लाख रुपैया विनियोजन गरेको छ । जात्राका लागि ललितपुरको हरसिद्धी गाउँबाट महर्जजनहरुको विषेश तान्त्रिक विधिीबाट जात्रा संचालनका लागि २९ जना देवगण सहित उनिहरुका सहयोगि समेत गरी ९७ जनाको समुह पनौतीमा आउनेछ । धुलिखेलमा देवजु परिवार एक्लैले उक्त जात्रा ब्यवस्थापन गर्दै आएको छ भने पनौतीमा स्थानीयहरुले उक्त जात्रा ब्यवस्थापन गरिरहेका छन् । जात्रा अवधीभर पनौतीमा बाजा बजाउनु हुँदैन भन्ने विश्वास छ । चैत्र २८ गते देवगणहरुलाई पनौती भित्र्याउँदै हरसिद्धी पाटीमा कपडा परिवर्तन गराउँदै त्रिवेणी घाटमा पु¥याएर नागको पुजा गरी प्वाल टाल्नु पर्छ । जात्रा अवधीभर नाग निस्कनु हुँदैन भन्ने मान्यता छ । नागलाई पनि बलि चढाउनु पर्छ । जात्राको दोश्रो दिन राँगा ३ वटा, बोका १४ वटा र भेडा समेत गरी २९ वटा बलि दिईन्छ । २९ वटा विमिरो अनिवार्य गरिएको छ । विभिन्न सामाग्रीहरु जुटाउन समितिलाई पनि हम्मेहम्मे पर्ने गरेको छ । पनौतीमा हरसिद्धी बसुञ्जेल पुजामा कुखुराको मासु, अण्डा र लसुन मनाही गरिएको छ । चैत्र २९ र ३० गते दुई दिन पनौती बजारमा नाच प्रर्दशन गरिनेछ ।









