पनौती/विद्यालय जीवन देखि नै बालबालिकाहरुलाई राष्ट्रिय एकताको भावना जगाउन, बफादारिता, इमान्दारिता, अनुशासन, नेतृत्व गर्ने बानीको विकास गर्ने उद्देश्यले नेपाली सेनाले जिल्लामा पाँचवटा विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरेको थियो ।
पाँच वटा विद्यालय मध्ये पनौतीमा रहेको अरुणोदय माध्यमिक विद्यालयका राष्ट्रिय सेवादल प्रशिक्षार्थीहरुलाई सम्मान तथा प्रमाण पत्र वितरण गरिएको छ ।
नेपाली सेनाको कालिजंग गण धुलिखेलका गणपति कर्णेल मिलन थापाको प्रमुख आतिथ्यतामा भएको उक्त प्रमाण पत्र तथा सम्मान पत्र वितरण कार्यक्रममा अभिभावक, विद्यार्थी र शिक्षकहरुको सहभागिता रहेको थियो ।
प्रमुख अतिथी कर्णेल थापाले विद्यार्थीहरुलाई अध्ययनमा कुनै असर नपर्ने गरी सेवा दलमा सहभागी भएकाहरुलाई विहान बेलुकाको अतिरिक्त समयमा नेपाली सेनाको टोलीले तालिम प्रदान गरेको बताउनु भयो । तीन महिना सम्म भएको तालिममा सहभागीहरुलाई सेनाले पोशाक लगायतका आवश्यक सामाग्री निःशुल्क उपलब्ध गराएको बताउनु भयो । तालिममा उत्कृष्ट भएकाहरुलाई सेनाले विभिन्न देशमा अध्ययन अवलोकनका लागि पठाउने र विशेषगरी स्थानीयस्तरमा हुने विभिन्न खालका विपद् भएको अवस्थामा त्यसको ब्यवस्थापनका लागि राष्ट्रिय सेवा दलमा आबद्ध भई तालिम प्राप्त विद्यार्थीहरु सक्रिय हुन सकून् भन्ने उद्देश्यले विद्यालय तह देखि नै विद्यार्थीहरुले सक्रिय बनाईएको कर्णेल थापाले बताउनु भयो । नेपालमा विपद् धेरै भएकाले विपद् ब्यवस्थापन गर्न स्थानीय तहमै जनशक्ति तयार गर्ने उद्देश्यले उक्त सेवा दललाई ऐनमा भएको ब्यवस्था अनुसार कार्यान्वयन शुरु गरिएको हो । तालिम पश्चात विद्यार्थीहरुलाई एल्मुनाई एशोसियशन मार्फत सक्रिय गराई सामाजिक काममा समेत उत्प्रेरणा जगाउने अभिप्रायले राष्ट्रिय सेवा दल गठन गरिएको हो । यसअघि जिल्लाका विभिन्न विद्यालयमा गठन भएको राष्ट्रिय सेवा दलमा सहभागी विद्यार्थीहरु सामाजिक कार्य तथा विपद् ब्यवस्थापनमा सक्रिय भएका छन् ।
कार्यक्रममा विद्यालय बाट १८ छात्रा र १८ छात्र गरी ३६ जना विद्यार्थीहरु सेवा दलमा सहभागी भएका प्रिन्सिपल विष्णु प्रसाद दाहालले बताउनु भयो । विद्यार्थी र अभिभावकहरुको रुची, उचाई तथा तौल, शारिरीक स्वस्थता लगायतका मापदण्डका आधारमा विद्यार्थीहरु छनौट गरिएको प्रिन्सिपल दाहालले बताउनु भयो । प्रिन्सिपल दाहालले राष्ट्रिय सेवा दल गठनले विद्यार्थीहरुलाई नेतृत्व र अनुशासन कायम हुने बताउनु भयो । दाहालले गत मंसिर १९ देखी तालिम शुरु भई चैत्र ६ गते सम्पन्न भएको बताउनु भयो । विद्यालयमा १ हजार भन्दा बढी विद्यार्थी पास आउट भैईसकेका, हाल ६ सय भन्दा बढिले अध्यनरत गरिरहेका, विद्यालयको आफ्नै ४२ वटा पक्की भवन रहेको, घोकन्ते शिक्षा भन्दा प्राविधिक, प्रयोगात्मक र ब्यबहारिक शिक्षा प्रदान गर्दे आएको प्रिन्सिपल दाहालले बताउनु भयो । कार्यक्रममा प्याब्सन केन्द्रका उप–महासचिब भिमसेन केसी, कालजंग गणका सेनानी राजेश कार्कि, उप सेनानी आशिष रानाभाट, प्याब्सनका पुर्व केन्द्रिय सदस्य सत्यनारायण श्रेष्ठ, चेष्टा साप्ताहिकका सह सम्पादक लक्ष्मण तिमल्सिना लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा बर्दिबासमा भएको कार्यक्रममा विद्यालयका तर्फबाट बेष्ट स्पिकर अवार्ड प्राप्त गरेको जनाएको थियो । कार्यक्रम विद्यालयका ब्यबस्थापन समितीका अध्यक्ष तुयुकाजी ताम्राकारको सभापतित्वमा सम्पन्न भएको थियो ।









