जलविद्युत र हाईड्रोजनमा सहकार्य
धुलिखेल/धुलिखेल स्थित काठमाण्डौ विश्वविद्यालय र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (ईप्पान) बीच जलबिद्यूत र हाईड्रोजनको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।
राष्ट्रपति विद्या देवी भण्डारीको उपस्थितिमा केयु र ईप्पानबीच जलबिद्यूत र हाईड्रोजनको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको हो । तेस्रो संस्करणको हिमालयन हाईड्रो एक्सपो २०२२ को अवसर पारेर दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतामा ग्रीन हाईड्रोजनबाट कार्बन उत्सर्जन घटाउने र देशमै इलेक्ट्रोमेकानिकल कम्पोनेन्टहरुको डिजाइन, मर्मत सम्भार गर्ने सेन्टरको स्थापना गर्ने विषय उल्लेख छ ।
सम्झौता पत्रमा काठमाण्डौ विद्यालयलयको तर्फबाट स्कुल अफ इन्जिनियरिंगका डीन प्राध्यापक डाक्टर मनिष पोखरेल र ईप्पानका अध्यक्ष कृष्ण आचार्यले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा केयुको तर्फबाट टर्वाइन टेष्टिङका फ्याकल्टि इन्चार्ज डाक्टर शैलेश चित्रकार, प्राज्ञिक औद्योगिक संयोजक डाक्टर राम लामा र इन्जियिर लक्ष्मण लामा सहभागि हुनुहुन्थ्यो ।
हाइड्रोजन निकाल्नका लागि यो सम्झौता कोसेढुंगा सावित हुने केयुका ग्रीन हाइड्रोजन ल्याब इन्चार्ज प्राध्यापक डाक्टर विराज सिं थापाले बताउनुभयो । डाक्टर थापाले यो सम्झौता निकै महत्वपूर्ण रहेको बताउनुभयो । विद्यूत उत्पादन गर्ने संस्थासंगै भएको सम्झौताले ठूलो अर्थ राख्ने उहाँको भनाई छ । ‘हाइड्रोजन उत्पादनका लागि विद्यूत आवश्यक पर्छ । विद्यूत उत्पादन गरिरहेको नीजि क्षेत्रसंगको सम्झौताले हाइड्रोजनका बारे थप अध्ययन, अनुसन्धान र उत्पादन गर्न हौसला मिल्नेको छ । सरकारले कानुन, नीति र नियम बनाइदिने हो । नीजि क्षेत्रले नै हो उत्पादन गर्ने र बिक्री गर्ने । त्यहि भएर यो सम्झौताले हाइड्रोजन उत्पादन र बिक्री वितरणका लागि समेत निकै महत्वपूर्ण भुमिका निर्वाह गर्ने छ ।
केयुका टर्वाइन टेष्टिङका फ्याकल्टि इन्चार्ज डाक्टर शैलेश चित्रकारले यो सम्झौतापछि नेपालका जलविद्यूत आयोजनाहरुको टर्वाइनमा देखा पर्ने समस्या समाधान गर्नका लागि थप मद्दत पुग्ने बताउनुभयो । केयुका प्राज्ञिक औद्योगिक संयोजक डाक्टर राम लामाले जलविद्यूत र हरित हाइड्रोजनको उत्पादन गर्दै आद्यौगिकरणको माध्यमबाट देशको अर्थतन्त्र बलियो बनाउँदै उर्जामा आत्मनिर्भर हुनु पर्नेमा जोड दिनुभयो ।









