जनप्रतिनिधिहरुले गरे अवलोकन
बनेपा/बनेपा नगरपालिकाले गौरवको आयोजना अन्र्तगत बनेपा नगरपालिका वडा नम्वर ५ र ६ नम्वर वडामा १६ सय सिँढी निर्माण कार्य सम्पन्न गरेको छ । निर्माण सम्पन्न गरेको सिँढीको जनप्रतिनिधिहरुले अवलोकन गरेका छन् ।
‘हामी निर्वाचित भए देखि नै बनेपाका विभिन्न वडामा गर्ने भनिएको विकासका योजनाहरु सम्पन्न गरेका छौं’– संघीय सांसद एवं पुर्व मन्त्री गोकुल बास्कोटाले भन्नुभयो–‘१६ सय सिँढी सहितको पार्क निर्माणको कार्य सकिएको छ । बनेपामा निर्माण भएको प्रतिरक्षा विश्वविद्यालय, फिल्म सिटी, स्मार्ट सिटी अन्र्तगत पुराना धारा तथा पोखरी र मन्दिरहरुको पुनर्निर्माण, बासुकी पार्क, पक्कि सडक निर्माण तथा भौतिक पूर्वाधार सम्पन्न विद्यालयहरुको निर्माणको कार्य सम्पन्न गरेका छौं ।’ पुर्व मन्त्री बास्कोटाको क्षेत्र रहेको बनेपाले हरेक वडामा गौरवका योजना संचालन भईरहेको बताउनु भयो । निर्वाचन क्षेत्रका सबै वडामा कुनै न कुनै परियोजना संचालन भईरहेको उहाँले बताउनु भयो । अवलोकनका लागि नगर प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठ, उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेति, वडा अध्यक्षहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो ।
धार्मिक तथा पर्यापर्यटनको उदेश्यले निर्माण शुरु गरिएको सिँढी मार्फत नगरपालिकाले नागरिकहरुको स्वास्थ्य तथा आन्तरिक आयमा जोड दिएको छ । ‘आन्तरिक तथा बाह्य पर्यटकहरुको स्वास्थ्यका लागि धार्मिक हिसावले पनि १६ सय सिँढी निर्माण गरिएको छ’–बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले भन्नुभयो–‘ऐतिहासिक चण्डेश्वरी मन्दिरको प्रवेशद्वारबाट बनेपाको गोसाईस्थानसम्म जोड्ने दुई ठुला धार्मिक स्थलहरुमा पुग्न सिंढीले सहज बनाएको छ ।’ मन्दिर तथा धार्मिक स्थलसँगै धार्मिक वनका रुपमा चण्डेश्वरी र गोसाईस्थानको साुमदायिक बनलाई लिईन्छ । रक्तचन्दन, गुराँस तथा अन्य मसलायुक्त रुखहरुको बाक्लो जंगलको बीचबाट निर्माण गरिएको सिँढी आर्कषक छ । बनको मापदण्ड भित्र रहेर एउटा पनि रुख नमासिकन निर्माण गरिएका एक हजार ६ सय सिँढीले प्रारम्भमै सर्वसाधारणको ध्यानाकर्षण गरेको छ । चण्डेश्वरीदेखि पर्यटकीय पदमार्ग निर्माणको काम सकिएको छ ।
‘बनेपाको गौरवको आयोजनाका रुपमा सिँढी निर्माणलाई लिएका छौं’–उपप्रमुख रेखा सापकोटा दाहालले भन्नुभयो–‘चण्डेश्वरी मन्दिर देखि गोसाईस्थानसम्मको मार्गलाई धार्मिक पर्यटनका रुपमा विकास गर्न सिँढी निर्माण गरिएको हो । दुबै धार्मिक स्थलमा आउने पर्यटकहरुका लागि उक्त सिँढीको मार्गबाट ओहोर दोहोर गर्न सहज हुनेछ ।’ ‘सिँढीमा विद्युत्त, खानेपानी, बस्ने स्थानहरु, रेलिङ्ग, पानीको ड्रेन लगायतका संरचना निर्माण हुनेछ’–प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतीले भन्नुभयो–‘माटोमा खनिएका सिँढीहरुलाई पक्कि सिँढी निर्माण गरी पर्यापर्यटनसँग जोड्ने मुख्य उदेश्य हो ।’ दुई चरणमा उक्त सिंढीको संरचना निर्माणका लागि बोलपत्र आब्हान गरिएको थियो । रोजगारी सिर्जना समेत गर्ने उक्त योजनालाई गौरवको योजना मानेर निर्माण गरिएको छ । नयाँ वर्षको प्रारम्भ देखि नै उक्त सिंढी मार्ग संचालनमा आउने छ ।
बनेपा नगरपालिका वडा नम्वर ५ का अध्यक्ष बलराम अधिकारीले बनेपा आसपासका क्षेत्रहरुको समेत अवलोकन गर्ने गरी स्थानीय आयआर्जनमा समेत टेवा पुग्ने गरी सिंढी निर्माण गरिएको छ । बनेपा नगरपालिका र पर्यटन मन्त्रालयको पाँच करोड ३५ लाख रुपैयामा उक्त आयोजना निर्माण शुरु गरिएको हो । ८ फिट चौडाई, साईड ड्रेन, पार्किङ, बगैंचा, सार्वजनिक शौचालय, पिकनिक स्पोर्ट लगायतका संरचनाहरु सिँढीको आसपास निर्माण हुनेछ । सिंढीको लम्बाई डेड किलोमिटर छ ।









