नमोबुद्ध/राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारको विकास गर्ने क्रममा वातावरण संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।
२०७२ सालको भुकम्पका कारण क्षतिग्रस्त नमोबुद्ध नगरपालिका वडा नं. ५ स्थित प्राचीन कालिका मन्दिर समुद्घाटन कार्यक्रमलाई संवोधन गर्दै भण्डारीले विकास सम्वन्धी नीति, कार्यक्रम र योजना तर्जुमा गर्दा वातावरण संरक्षणको विषयलाई उच्च प्राथमिकतामा राख्ने सुदृढ संकल्प गर्न पनि जनप्रतिनिधि तथा सम्वद्ध सबैलाई विशेष आह्वान गर्नुभयो । ‘स्थानीय तहमा भौतिक निर्माण एवं पूर्वाधार निर्माण गर्दा प्रकृतिको संरक्षण गरी वातावरण जोगाउने कार्यलाई विशेष महत्व दिनुपर्छ,’ राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘हरियाली प्रवद्र्धन गर्ने, पानीका मुल बचाउने जैविक विविधताको रक्षा गर्ने गरेमा मात्र यस सुन्दर धर्तीलाई भावी पुस्ताका लागि सुरक्षित बनाउन सक्दछौं ।’
ऐतिहासिक सम्पदाको संरक्षण र सम्वद्र्धनका लागि नमोबुद्ध नगरपालिकाले देखाएको अग्रसरताको प्रशंसा गर्दैै भण्डारीले राष्ट्रपति भण्डारीले भुकम्पले भत्काएका सम्पदाहरु अझ बलियो र स्थायीरुपमा पुननिर्माण हुँदा ऐतिहासिक धरोहरको संरक्षण गर्ने राष्ट्रिय आत्मविश्वास पनि अझै बलियो भएको बताउनुभयो ।
कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टी.पी. शर्मा तिमल्सिनाले प्राचीन कालिका मन्दिर पुननिर्माणका लागि सहयोग गर्ने पुरातत्व विभागसहित सबैमा धन्यवाद व्यक्त गर्दै ऐतिहासिक धरोहरको संरक्षण र सम्वद्र्धनको कार्यमा हौसला बढाउन उपस्थित हुनुभएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति आभार प्रकट गर्नुभयो । कृषि व्यापार र पर्यटन हाम्रो सशक्त अभियान मुल नारासहित अघि बढिरहेको नमोबुद्ध नगरपालिकाले धार्मिक एवं सांस्कृतिक महत्वको क्षेत्रको संरक्षण र सम्वद्र्धनमा विशेष जोड दिँदै आएको बताउँदै तिमल्सिनाले नगरपालिकाले कानपुर क्षेत्रको रक्तकाली मन्दिरसहित नगरभित्रका प्राचीन मठमन्दिरको पुननिर्माण गरिसकेको तथा नमोबुद्ध गुम्बा क्षेत्रको पुननिर्माण र संरक्षणमा नगरपालिका निरन्तर लागिरहेको बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले राख्नु भएको थियो । विक्रम संवत १८३८ मा निर्माण भएको उक्त मन्दिर २०७२ सालको भुकम्पका कारण क्षतिग्रस्त भएको थियो । मन्दिर पुननिर्माण पुरातत्व विभाग, राष्ट्रिय पुननिर्माण प्राधिकरण, शहरी विकास तथा भवन निर्माण विभाग र नमोबुद्ध नगरपालिकाको सहकार्यमा सम्पन्न गरिएको हो । मन्दिर पुननिर्माणका लागि पुरातत्व विभागबाट १ करोड ४० लाख, पुननिर्माण प्राधिकरण र शहरी विकास तथा भवन निर्माण विभागबाट संयुक्तरुपमा ६० लाख र नमोबुद्ध नगरपालिकाबाट ४ लाख रुपैयाँ खर्च भएको छ ।









