काभ्रेको नमोबुद्ध नगरपालिका र कर्णाली अञ्चलको दैलेख जिल्लास्थित दुल्लू नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ ।
धार्मिक एवं सांस्कृतिक हिसाबले महत्वपूर्ण रहेका दुबै नगरपालिकाले आपसी सहकार्यमा सांस्कृतिक, सामाजिक एवं अन्य क्षेत्रमा सहकार्य गर्न तयार रहँदै भगिनी सम्वन्ध जोडेका हुन् । हालै दुल्लू नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रमका बीच दुबै नगरपालिकाका प्रमुखले भगिनी सम्वनध कायम गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । नमोबुद्ध र दुल्लू नगरपालिकाको कार्यपालिका बैठकले आपसमा भगिनी सम्वन्ध कायम गर्ने निर्णय गरेका थिए । कार्यक्रमा नमोबुद्ध नगरपालिकाका प्रमुख टी.पी. शर्मा तिमल्सिना र दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले निर्णयमा हस्ताक्षर गरेका थिए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा अन्तरस्थानीय तहबीच भगिनी सम्वन्ध कायम गर्नसक्ने व्यवस्था रहेको छ । भगिनी सम्बन्ध स्थापनासम्बन्धी कार्यक्रमका लागि दुल्लू पुगेको नमोबुद्ध नगरपालिकाका प्रमुख टी.पी शर्मा नेतृत्वको टोलीलाई दुल्लू नगरपालिकाका प्रमुख भण्डारी, नेकपा एमालेका पोलिटब्युरो सदस्य लक्ष्मीप्रसाद पोखरेल लगायतले स्वागत गरेका थिए ।
दैलेख जिल्लाको ऐतिहासिक भूमि दुल्लु धार्मिक एवं सांस्कृतिकरुपमा महत्वपूर्ण क्षेत्र मानिन्छ । नेपाली भाषाको पहिलो शिलालेख दुल्लूमै भेटिएको छ भने यो क्षेत्र ज्वाला सभ्यताको केन्द्र मानिन्छ, जहाँ अहिले पनि निरन्तर ज्वाला बलिरहने नाभीस्थान, शिरस्थान लगायतका महत्वपूर्ण ऐतिहासिक क्षेत्र रहेका छन् । दुल्लू तत्कालिन सिंजा राज्यको शितकालिन राजधानीसमेत रहेको थियो ।









