बनेपा/उब्जाउयोग्य भुमी बाँझो बन्दै गएकाले खाद्य सुरक्षामा संकट देखिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
धुलिखेलमा राष्ट्रिय योजना आयोग, प्रदेश निति तथा योजना आयोग, संयुक्त राष्ट्र संघ विश्व खाद्य कार्यक्रम र जिल्ला समन्वय समिति काभ्रेको संयुक्त आयोजनामा भएको पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन सम्बन्धी विस्तृत अध्ययन कार्यशाला गोष्ठीमा सहभागिले खाद्य सुरक्षामा नयाँ नयाँ संकट थपिएको बताएका हुन् । छिटो कमाउने बहानामा खाद्यान्न बाली भन्दा नगदेबाली तर्फ किसानहरु आकर्षित भएकाले खाद्य संकट देखिन सक्ने उनीहरुको भनाई छ । उब्जाउयोग्य भुमी कतै बाँझो रहने त कतै अव्यवस्थित रुपमा संरचना निर्माण गर्ने परिपाटीका कारण थप समस्या देखिएको सहभागिले बताएका छन । यस्तै विकास निर्माणको नाममा जथाभावि सडक, भवन निर्माण गर्दा उर्वर भुमि विनाश भएको छ भने खानेपानीका मुहान सुक्दै गएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले जीविकोपार्जनको सिस्टम बचाइराख्न कार्यशाला प्रभावकारी हुने बताउनुभएको छ ।
भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले छोराछोरी पढाउने, जागिर खाने, वैदेशिक रोजगारीमा जाने, देखासिकी लगायतका कारण मानिसहरु शहर पस्दा गाउँका उव्जाउयोग्य भुमि बाँझो रहेको बताउनुभयो । खेतीपाति गरिएको जमिनमा पनि जंगली जनावरले रजाँइ गर्ने गरेको उहाँको गुनासो छ । जिल्ला समन्वय अधिकारी भीमप्रसाद भट्राइले आफैं उत्पादन गर्ने भन्दा किनेर खाने बानी परेकाले खाद्यान्न आयात बढेको बताउनुभएको छ । जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीले कतै खेतीयोग्य जमिन बाँझो रहने र कतै अव्यवस्थित रुपमा संरचना बनाउने गर्नाले समस्या निम्तीएको बताउनुभयो । कार्यशाला गोष्ठीमा संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रम बागमती प्रदेशका संयोजक राजु क्षेत्रीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गोष्ठीमा १३ वटै पालिकाबाट प्रतिनिधित्व रहेको थियो । पालिका प्रतिनिधिको परामर्शमार्फत संकलन गरिएको सूचनाहरुको आधारमा जीवन निर्वाहका आधारहरुको क्षेत्र पहिचान र नक्शाकंन, जलवायु पुनरुत्थान, जलवायु परिवर्तनका असरहरु र खाद्य सुरक्षाको दृष्टिकोणले जोखिमता सम्बन्धि विश्लेषण गरिनेछ । दिगो विकास लक्ष्य २ “भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा उन्नतपोषण सुनिश्चित गर्ने तथा दिगो कृषिको प्रवद्र्धनगर्ने”लक्ष्य हासिल गर्न बाढी पहिरो र खडेरी जस्ता जलवायुजन्य विपद्हरुको प्रभावले थप चुनौतिपूर्ण बनाएको छ । यो लक्ष्य हासिल गर्नको लागि जलवायुजन्य जोखिम र यसले जीवन निर्वाहका साधनहरु र खाद्य सुरक्षामा पार्ने प्रभावहरुलाई बुझ्न जरुरी रहेको विज्ञहरुले बताएका छन् ।









