पनौती/पनौती नगरपालिकाले विविध कार्यक्रम सहित पुनःसंरचना दिवस मनाएको छ । पनौती नगरपालिका २०७३ फागुन २७ गते साविकको क्षेत्रबाट अन्य क्षेत्र समेत थप भई पुर्नसंरचित भएको थियो ।
पनौती, खोपासी, मल्पी, टौखाल, देवीस्थान, सुन्थान,सुब्बागाउँ, रयाले, कुशादेवी, कलाँती भुमिडाँडा, बल्थली, शारदा बतासेको वडा नम्बर ३, ४ र ९ एवं शंखुपाटीचौर गाविसको वडा नम्बर ४ समावेश भई विविधतायुक्त वृहत स्थानीय तहका रुपमा पनौती नगरपालिका गठन भएको थियो । पुनःसंरचना दिवस कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, संविधासभा सदस्य रामहरी सुवेदी, पनौती नगरपालिका उप–प्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारी, नेकपा एमाले पनौती नगर कमिटी अध्यक्ष सुरेश हुमागाँई, विभिन्न संघ सस्थाका प्रमुख एवं प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । दिवसको अवसर पारेर नगरपालिकालाई विभिन्न तवरबाट सहयोग पुर्याउने व्यत्तिलाई सम्मान गरिएको थियो । शिक्षा, स्वास्थ्य, कृषि, सुरक्षा, मकरमेला व्यवस्थापन, साहित्य, सञ्चार लगायतका क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको हो । यस्तै २० वर्ष भन्दा बढी अवधि कार्यरत कर्मचारीहरुलाई दिर्घ सेवा पदक सहित सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले यो सम्मानले थप उर्जा प्रदान गर्ने भन्दै मनोवल उच्च बनाएर काम गर्न सबैमा अनुरोध गरेका छन् । यस्तै पनौती नगरपालिका प्रमुख भिम न्यौपानेले जनताले आफुहरुलाई विश्वास गरेर दिएको मतको सम्मान गरेको बताएका छन् । पनौती नगरपालिकाले विकासको लय समातेको भन्दै उनले आगामी दिनमा थप सदृढ र व्यवस्थित बनाउने बताएका छन् ।









