विकास तिमल्सिना/पनौती
पनौती नगरपालिकाले पाडा वितरण सुरु गरेको छ । पनौती नगरपालिका वडा नम्बर १ रयालेका १७ जना किसानलाई लागत साझेदारीमा पाडा वितरण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको हो । पाडा वितरण कार्यक्रमको शुभारम्भ गर्दै उप–प्रमुख गिता बञ्जाराले किसानको जीवनस्तर उकास्न यो कार्यक्रम थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भएको छ । पाडा वितरण कार्यक्रममा कृषि तथा पशुपक्षीं शाखा प्रमुख मणिप्रसाद सापकोटाले किसानको जीवनस्तर उकास्न तथा मासु उत्पादनमा वृद्धि गर्न पाडा वितरण गरिएको बताउनु भयो । नगरपालिकाले चालु आर्थिक वर्षमा १ सय १० वटा पाडा वितरण गर्न लागेको र लागतको ४० प्रतिशत किसानले व्यहोर्नु पर्ने सापकोटाले वताउनु भयो । पाडा प्राप्त गर्ने किसानले ९ हजार ६ सय रुपैयाँ वुझाउनुपर्नेछ । पाडाको न्युनतम तौल ७० केजी तोकिएको छ । पाडाको १ वर्षको २५ हजार रुपैयाँको विमा र किसानको २ लाख बराबरको बिमा नगरपालिकाले नै गरिदिएको छ । २ सय केजीको भएपछि वडा कार्यालयको समन्वयमा उक्त पाडा विक्रिवितरण गर्न पाइने किसानलाई आत्मनिर्भर बनाउँदै मासु उत्पादनमा वृद्धि गर्नका लागि पाडा वितरण सुरु गरिएको सापकोटाले वताउनु भयो । कार्यक्रममा कृषि तथा पशुपक्षीं विकास समिति संयोजक एवं वडा नम्बर १ का अध्यक्ष गुणनाथ सापकोटाले आर्थिक उन्नतीका लागि कृषि क्षेत्रको विकास जरुरी रहेको बताए । नेतृत्व तहमा रहेकाहरुले सबैभन्दा माथी किसान हुन् भन्ने सोचेमा मात्रै पनि धेरै समस्या समाधान हुने बताउनु भयो ।









