धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा जिल्ला नागरिक आरोग्य समिति गठन भएको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उदव केसीको अध्यक्षतामा उक्त समिति गठन भएको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाको आयोजनामा आयोजित कार्यक्रममा समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको प्रमुख आतिथ्यता रहेको थियो । आयुर्वेद केन्द्रका प्रमुख डा. मनोजकुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला समन्वय समति काभ्रेका उपप्रमुख मञ्जु गौतम, समन्वय अधिकारी भिमप्रसाद भट्टराई, शिक्षा विकास समन्वय इकाईका प्रमुख गोकर्णध्वज कार्की, आयुर्वेद स्वास्थ्य केन्द्रका कृष्णप्रसाद पराजुली, रमेश पनेरु लगायतको सहभागिता रहेको थियो । भेलाले समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको अध्यक्षतामा जिल्ला नागरिक आरोग्य समिति गठन भएको छ । समितिमा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाई, शिक्षा विकास समन्वय इकाईका प्रमुख गोकर्णध्वज कार्की, समितिले मनोनित गरेको विशेषज्ञ ब्यक्ति, सदस्य सचिव जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. मनोज कुमार चौधरी रहनु भएको छ ।
‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नारालाई सार्थक पार्न आम नागरिकलाई शारीरिक, मानसिक र अध्यात्मिक रुपमा स्वास्थ्य एवं सबल बनाई विश्वब्यापी फैलिएको नसर्ने रोगको प्रकोपलाई न्यूनीकरण गर्न स्थानीय परिवेश र आवश्यकता अनुसार उपलब्ध स्रोतहरुलाई परिचालन गरी स्वास्थ्य सेवाका हरेक तहमा नागरिकहरुको सशक्त सहभागिता मार्फत आयुर्वेद योग तथा जडिबुटीको माध्यमबाट शारिरिक तथा मानसिक रुपमा स्वस्थ शरीर, सकारात्मक सोच र ब्यक्तित्व विकास गरी स्वस्थ समाज निर्माण गर्ने उदेश्यले जिल्ला स्तरीय नागरिक आरोग्य समिति गठन गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. मनोजकुमार चौधरीले बताउनु भयो । आरोग्य समिति स्थानीय तह र वडामा पनि गठन गर्ने गरी निर्देशिका तयार भएको छ । निर्देशिका अनुसार आरोग्य समितिले स्थानीय तहका वडा अध्यक्षहरु, पालिका स्तरका जनप्रतिनिधिहरु, सरोकारवाला निकाय तथा सामाजिक क्षेत्रका ब्यक्तिहरुलाई अभिमुखिकरण गराउँदै स्वास्थ्य प्रति सचेत गराईने छ । स्थानीय जडिबुटी परिचय प्रयोग रोपण एवं संरक्षण सम्बन्धी अभियानमूलक कार्यक्रम संचालन, योग आसन प्रणायाम ध्यान एवं सकारात्मक जीवनशैली सम्बन्धी विविध प्रशिक्षण, आयुर्वेदीय जीवनशैली एवं स्वस्थकर आहार सम्वन्धी जनचेतनामूलक कार्यक्रम संचालन गर्ने, आयुर्वेदिय जीवनशैली स्वस्थकर आहार एवं सरसफाईका लागि पोस्टर उत्पादन तथा वितरण गर्ने लगायतका कार्यहरु गर्नेछ ।
काभ्रेपलाञ्चोक जिल्लामा पनौती, भुम्लु, मण्डनदेउपुर, बेथान्चमेक गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र खुलेको छ ।









